यसरी ढाँटे देउवाले…..

कार्तिक २६ काठमाडौं –नेपाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका बेला कुनै तिब्बती शरणार्थी नेतासँग आफ्नो भेटघाट नभएको दाबी गरेको २४ घन्टा बित्न नपाउँदै तिब्बती नेतासँगै बसेको उनको फोटो सार्वजनिक भएको छ। इन्डिया फाउन्डेसनले भारतको गोवामा आयोजना गरेको कार्यक्रममा सहभागी हुने क्रममा तिब्बती निर्वासन सरकारका प्रमुख (प्रधानमन्त्री) लोप्साङ साङेसँग बसेको नेता देउवाको फोटो बिहीबार बाहिर आएको हो। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ।

देउवाले भारतमा साङेसँग भेटवार्ता गरेको भन्दै चीनले नेपालसँग असन्तुष्टि जनाएपछि परराष्ट्रमन्त्री प्रकाशशरण महतले मंगलबार पत्रकार सम्मेलन गरी देउवाले त्यस्तो भेटवार्ता नगरेको भन्दै बचाउ गरेका थिए। भारत भ्रमणबाट बुधबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा देउवाले पनि कुनै तिब्बती नेतासँग आफ्नो भेट नभएको दाबी गरेका थिए।
फाउन्डेसनको कार्यक्रमस्थलको दर्शकदीर्घामा देउवा र साङे सँगै बसेको फोटो साउथ एसिया चेकले सार्वजनिक गरेको हो। तिब्बती निर्वासन सरकारप्रमुखसँगको भेटबारे सरकार र देउवा दुवैले अस्वीकार गरेको भए पनि फोटो सार्वजनिक भएपछि उनीहरुबीच भेट भएको पुष्टि भएको छ।
उक्त फोटोबारे जिज्ञासा राख्दा परराष्ट्रमन्त्री महतले भने देउवाले तिब्बती शरणार्थी नेतासँग भेट नगरेको पुरानै दाबी दोहोर्‍याए। ‘फोटोमा चिनियाँजस्तो देखिने मान्छे देउवाजीसँगै बसेको देखिन्छ, थाहा छैन उनी को हुन्। कार्यक्रममा को को आएर बस्छ कसले ठेक्का लिन सक्छ?,’ परराष्ट्रमन्त्री महतले आक्रोशित हुँदै प्रतिक्रिया जनाए, ‘दर्शकदीर्घामा त जो पनि बस्छन्। कुन बेला को आएर आडमा बस्छ, त्यसको जिम्मा किन देउवाजीले लिनुपर्ने?’
देउवा र साङे सँगै बसेको फोटोको आधिकारिकतामाथि उनले शंका गरे। सार्वजनिक फोटो कम्प्युटरको सहयोगले जोडेको पनि हुन सक्ने उनको संशय थियो। परराष्ट्रमन्त्री महतले भने, ‘देउवाजी कार्यक्रमको स्टेजमा तिब्बती नेतासँगै बस्नुभएको छैन। आडमा को मान्छे आएर बस्यो, उहाँ (देउवा) लाई थाहा छैन। आडमा बसेको मान्छे तिब्बती निर्वासन सरकारप्रमुख नै हुन् भनेर कसरी चिन्ने?’
कांग्रेस सभापति देउवा कात्तिक ४ गते फाउन्डेसनले गोवामा आयोजना गरेको ‘इन्डिया आइडियाज कन्क्लेभ २०१६’ मा सहभागी भएका थिए। कार्यक्रमलाई तिब्बती निर्वासित धार्मिक गुरु दलाई लामाले भिडियोमार्फत सम्बोधन गरेका थिए भने तिब्बती निर्वासन सरकारप्रमुख साङेले प्रत्यक्ष उपस्थित भई कार्यक्रमलाई सम्बोधन गरेका थिए। गोवामा कार्यक्रमका दौरान देउवा र तिब्बती निर्वासन सरकारप्रमुखबीच भेट भएको जानकारी पाएपछि चीनले त्यस विषयमा नेपाल सरकारसँग असन्तुष्टि व्यक्त गरेको थियो। नेपालले तिब्बत र ताइवानलाई चीनकै अभिन्न अंग मान्दै आएको छ।
‘एक चीन नीति’ अँगालेको नेपालका नेताले तिब्बती शरणार्थीलाई भेटेको र राजधानीको बबरमहलस्थित आर्ट काउन्सिलमा आयोजित एक कार्यक्रममा ताइवानको झन्डा राखिएको भन्दै चीनले आपत्ति जनाएको थियो। देउवा भारत गई तिब्बती शरणार्थी नेता भेटेको खबर बाहिर आएपछि कांग्रेसका अन्य नेता रामचन्द्र पौडेल र महामन्त्री शंशाक कोइरालाले समेत असन्तुष्टि जनाउँदै कांग्रेस एक चीन नीतिमा अडिग रहेको बताएका थिए। चीनले आपत्ति जनाएपछि परराष्ट्रमन्त्री महतले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका थिए भने देउवाले पनि एक चीन नीतिलाई कांग्रेसले नछाडेको जनाएका थिए।
पछिल्ला दिन नेपालभित्र भएका गतिविधि र मन्त्री तथा नेताका क्रियाकलापलाई लिएर चीनले असन्तुष्टि व्यक्त गर्दै आएको। खासगरी केपी शर्मा ओली सरकार परिवर्तनसँगै नेपाल–चीन सम्बन्धमा दुरी बढेको महसुस चीनले गर्दै आएको छ। चीनको छिङआई प्रान्तका सार्वजनिक सुरक्षा मामिला प्रमुख वाङ चोङसङको नेतृत्वमा कात्तिक १५ देखि १८ सम्म नेपाल भ्रमण गरेको एक चिनियाँ टोलीलाई गृह मन्त्रालयका उच्च अधिकारी भेट नदिएपछि चीनको असन्तुष्टि झनै बढेको छ।
‘भ्रमणका बेला भेट मागेका सबै व्यक्तिसँग भेट पाइन्छ भन्ने हुँदैन। फुर्सद भए भेटका लागि समय दिने हो,’ परराष्ट्रमन्त्री महतले भने, ‘चिनियाँ टोलीलाई जे विषयका लागि निम्ता गरिएको थियो, सम्बन्धित व्यक्तिसँग भेट गर्न दिइएको छ। एउटा सन्दर्भमा आउने, अर्को सन्दर्भमा भेट माग्दा समयका कारण भेट दिइएन भने त्यसलाई अपमानका रुपमा बुझ्नु हुँदैन।’