कुलेखानी रित्याएर काठमाडौंलाई लोडसेडिङमुक्त गरेको होइनः घिसिङ

कार्तिक २५ , काठमाडौं – काठमाडौं उपत्यकासहित काभ्रेमा मंसिर महिनासम्म लोडसेडिङ नगर्ने र त्यसपछि पनि कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे अध्ययन भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङले बताएका छन्।

दिनकै १६–१७ घन्टासम्म लोडसेडिङको मार खेपेका उपभोक्तालाई सुखद आश्चर्यमा पार्दै ‘तीन–चार महिनामै काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त घोषणा गर्ने’ तयारीमा लागेको विद्युत प्राधिकरणका कार्यकारी अधिकृत घिसिङले बुधबार सेतोपाटीसँगको कुराकानीमा उक्त जानकारी दिएका हुन्।
‘मंसिर महिनासम्म लोडसेडिङ हुँदैन, हामीले त्यतिबेलासम्म नियमित बिजुली आपूर्ति गर्न सम्पूर्ण व्यवस्थापन गरिसकेका छौं,’ घिसिङले भने, ‘त्यसपछि पनि कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा हाम्रो अध्ययन भइरहेको छ।’
प्राधिकरणले तिहारदेखि नै काठमाडौं उपत्यकामा लोडसेडिङ गरेको छैन। तिहारको झिलिमिलीबीच प्राधिकरणको ‘लोडसेडिङमुक्त काठमाडौं’ योजनाको खबरले उपभोक्तालाई सुखद आश्चर्यमा पारेको थियो। अझै दुई–तीन वर्ष लोडसेडिङ झेल्नुपर्छ भन्ने चर्चाबीच एकाएक प्राधिकरणको यो तयारीले केही प्रश्न पनि उठाएको छः प्राधिकरणले एक्कासि लोडसेडिङ अन्त्य गर्ने क्षमता कसरी विकास गर्यो? कुलेखानीको बिजुली रित्याएर आपूर्ति गरिँदै त छैन? तिहार र छठमा उद्योगधन्दा बन्द भएकाले बिजुली बचत भएको त हैन?
प्राधिकरण प्रमुख घिसिङले बजारमा चर्चा भएझैं जलाशयुयुक्त कुलेखानी रित्याएर वा बन्द उद्योगधन्दाबाट बचेको बिजुली प्रयोग गरेर लोडसेडिङ हटेको भन्ने आरोपको खण्डन गरे। भने, ‘कुलेखानी रित्याएर लोडसेडिङ हटाइयो, फेरि मंसिरबाट लोडसेडिङ भइहाल्छ भन्ने खालका नकारात्मक हल्ला पनि सुनेँ। यसमा कुनै सत्यता छैन। हामीले कुलेखानी पहिलेजति नै चलाएका छौं, फरक यत्ति हो, अहिले हामी चाहिएका बेला मात्र चलाउँछौं।’
तिहार र छठ बेला बन्द भएका उद्योगधन्दाबाट बचेको बिजुली आपूर्ति गरेर लोडसेडिङ हटाएको हल्ला पनि मिथ्या भएको उनले बताए।
‘हामीले यसबीच बिजुली आपूर्ति, उत्पादन, वितरण र पूर्वाधारमा केही महत्वपूर्ण सुधार गरेका छौं, त्यही सुधारकै कारण काठमाडौं उपत्यकाबाट लोडसेडिङ हटाउन सकिन्छ भन्नेमा पुगेका हौं,’ उनले भने।
प्राधिकरणले थालेको यो गृहकार्यमा कुनै किसिमको दुविधा नराख्न आग्रह गर्दै प्रमुख कार्यकारी घिसिङले अहिलेसम्मको सुधार र व्यवस्थापनबाट आगामी जेठदेखि लोडसेडिङ नहुने निश्चित भइसकेको बताए। पुस महिनापछि हिउँदको अवधिमा पनि लोडसेडिङ कसरी हटाउन सकिन्छ भन्ने मात्र चुनौती भएको उनले उल्लेख गरे।
‘आगामी जेठदेखि लोडसेडिङ हुँदैन,’ घिसिङले भने, ‘हिउँदका चार–पाँच महिना पनि काठमाडौंलाई कसरी लोडसेडिङमुक्त राख्न सकिन्छ भन्नेतर्फ हामी लागिरहेका छौं।’
बिजुलीको अनियमित आपूर्तिले वर्षौंदेखि सर्वसाधारणको कामकाज प्रभावित पारेको र उत्पादकत्व क्षमता घटाएका बेला लोडसेडिङ हटाउने तयारी कसरी सम्भव भयो त?
‘हामीले कुनै चमत्कार गरेका छैनौं, यो स्रोत व्यवस्थापनको मात्र कुरा रहेछ,’ उनले भने, ‘लोडसेडिङ हटाउनु सरकार र मेरो लागि पनि चुनौतीपूर्ण थियो। अहिले काठमाडौंमा लोडसेडिङ हटाउन सकेपछि हामीलाई लागेको छ, गरेपछि त हुने रैछ। मुख्य कुरा व्यवस्थापन हो।’
काठमाडौं उपत्यकाबाट लोडसेडिङ हटाउन मुख्यतया चार कुराको व्यवस्थापन मिलाएको उनको भनाइ छ। त्यो हो, आपूर्ति, पूर्वाधार, उत्पादन र मागबीचको तालमेल।
उनका अनुसार प्रत्येक घन्टा देशभरि बिजुलीको माग फरक हुन्छ। जुन ठाउँमा धेरै माग छ, त्यहाँ पठाउने र माग नभएको ठाउँमा घटाएर माग र आपूर्तिबीच तालमेल मिलाएको उनले बताए। ‘स्थानीय रूपमा पनि लोडसेडिङ हुने रहेछ। स्युचाटारमा ट्रान्सफर्मरमा ओभरलोड भएर सप्लाई गर्न नसकेपछि लोडसेडिङ गर्नुपर्ने थियो,’ घिसिङले भने ‘देशभर यस्ता साना–साना समस्या धेरै थिए। हामीले तिनलाई पनि व्यवस्थापन गरेका हौं।’
प्राधिकरणले देशभरि माग र आपूर्तिको हिसाब गरेर कुन बेला कुन ठाउँमा कति बिजुली चाहिन्छ भनी हिसाब निकालेको र त्यसैअनुसार विद्युत वितरण भइरहेको उनले बताए। ‘काठमाडौंमा मात्र होइन, देशभरि पनि अहिले दुई घन्टाभन्दा बढी लोडसेडिङ भएको छैन,’ उनले भने।
यतिमात्र होइन, कुन बेला रन अफ द रिभर चलाउने, कुन बेला रिजर्भ चलाउने र कुन बेला पिकिङ रन अफ द रिभर चलाउने भन्ने पनि निक्र्यौल गरिएको छ। यसले पनि लोडसेडिङ हटाउन धेरै फरक पार्ने उनले बताए।
देशभरि करिब १० ठाउँमा ‘आइसोलेसन मोड’ बाट बिजुली वितरण भइहेको छ। भारतबाट आएको बिजुली स्थानीय रूपमै चलिरहेको छ। प्राधिकरणले त्यसलाई पनि व्यवस्थित गरेको घिसिङले जानकारी दिए।
‘मानिसलाई लोडसेडिङ हुँदैन भन्ने पर्यो भने चाहिने जति मात्र बिजुली खपत गर्छन्, त्यसले अनावश्यक माग बढाउँदैन,’ उनले भने, ‘काठमाडौंमा मात्रै तीन लाखजति इन्भर्टर छन्, लोडसेडिङ हुने भएपछि ती सबै चार्ज गर्न खोज्छन्। त्यति इन्भर्टर दिउँसो चार्ज गर्नुको साटो राति बत्ती दिएपछि दिउँसो माग कम हुन्छ।’

उद्योगधन्दालाई गरिने बिजुली वितरणबारे पनि अध्ययन भइरहेको उनले बताएका छन्।
जनतालाई अन्धकारमा राखेर उद्योगहरूलाई सहुलियतमा बिजुली नदिने जानकारी दिँदै उनले भने, ‘उद्योगलाई कसरी बिजुली वितरण गर्ने भन्नेबारे हामीले अध्ययन गरिरहेका छौं। उद्योग पनि हाम्रा ग्राहक हुन् तर जनतालाई अन्धकारमा राखेर उद्योगलाई सस्तो दरमा बिजुली दिनुहुँदैन।’

उनले बिजुली चुहावट नियन्त्रणको अभियान चलाएको पनि बताए। ‘अहिले करिब १० प्रतिशत बिजुली चुहावट हुन्छ,’ घिसिङले भने, ‘त्यो मात्र रोक्न सक्यो भने धेरै राहत हुन्छ।’
अर्को वर्षदेखि केही विद्युत आयोजनाबाट थप बिजुली आउने र भारतबाट पनि थप बिजुली आयात गर्न सकिने भएकाले यो हिउँद लोडसेडिङ हटाउन आफूहरू लागिरहेको उनले बताए। ‘अहिले हामी क्राइसिस म्यानेजमेन्ट कसरी गर्ने भन्नेमा लागिरहेका छौं,’ घिसिङले भने, ‘लोडसेडिङ हटाउने कुरा निरन्तर प्रक्रिया हो। त्यो सुरु भइसकेको छ।’