रामचन्द्र अझै लोकमानकै पक्षमा

 

 

कार्तिक ८, काठमाडौं – दुई दिनसम्म चलेर स्थगित भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार पुनः बस्दैछ । यो बैठकले लोकमानको महाअभियोग प्रकरणमा पार्टीको धारणा सार्वजनिक गर्ने नेताहरुले बताएका छन् । यद्यपि कांग्रेस अझै पनि अनिर्णयको बन्धनबाट मुक्त हुने स्थिति देखएको छैन ।

केन्द्रीय कार्यसमितिको बैठकमा संविधान संशोधन, स्थानीय तहको पुनर्संरचना लगायतका विषयहरु मुख्य एजेन्डा भए पनि सोमबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथि संसदमा दर्ता महाभियोग प्रतावबारे निर्णायक छलफल हुने बताइएको छ ।

यसअघि दुई दिनसम्म चलेको बैठकमा २५ केन्द्रीय सदस्यले लोकमानबारे आफ्नो धारणा राखेका थिए । अब २७ जनाले बोल्न बाँकी छ ।  बैठक सोमबार बिहान ८ बजेदेखि नै बोलाइएकाले बोल्ने क्रम आजै सकिने एक नेताले बताए ।

सभापति शेरबहादुर देउवाले बैठकको सुरुवात गर्दै गत बुधबार लोकमानसिंहलाई बचाउन नसकिने धारणा राखेका थिए । तर, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव लगायतले अझै बोल्न बाँकी नै छ ।

एमाले र माओवादी केन्द्रका १५७ सांसदले अख्तियार प्रमुख लोकमानविरुद्ध महाअभियोगको प्रस्ताव बुधबार संसदमा दर्ता गरेका छन् । सो प्रस्तावको पक्षमा मतदान गर्ने माओवादी र एमालेले संस्थागत रुपमा बताइसकेका छन् । तर, कांग्रेसले भने अझै आफ्नो धारणा स्पष्ट पार्न सकेको छैन ।

कांग्रेस स्रोतका अनुसार पार्टी सभापति शेरबहादुर देउवा लोकमानसिंहविरुद्ध महाअभियोग लगाउनुपर्ने पक्षमा छन् । तर, रामचन्द्र पौडेल समूहले चाँहि अहिलेसम्म लोकमानको विपक्षमा बोल्ने आँट गरेको छैन ।

स्रोतका अनुसार पार्टीभित्र पौडेल समूहले भित्रभित्रै लोकमानप्रति उदारभाव देखाएर उनलाई जोगाउने भूमिका देखिरहेको छ ।

तर, कांग्रेसको कृष्ण सिटौला पक्षचाँहि लोकमानको पक्षमा पार्टीले निर्णय गर्न नहुने र महाअभियोगको नेृतत्व कांग्रेसले लिनुपर्ने लविङमा सक्रिय छ ।

शेरबहादुर देउवा पक्षकै केही नेताहरु लोकमानलाई जोगाउने अभियानमा लागेका छन् । तर, शेरबहादुर देउवाले भने जनमतलाई हेरेर निर्णय लिनपर्छ भन्दै जनमतको विपक्षमा नजाने संकेत गरेका छन् । यो अवस्थामा कांग्रेसको आजको बैठकले लोकमानबारे स्पष्ट धारणा ल्याउनेमा धेरैले आशंका गरेका छन् ।

यसैवीच आइतबार कांग्रेस नेता रामचन्द्र पौडेल आफ्नो गृहजिल्ला तनहुामा थिए । त्यहाा आयोजित प्रशिक्षण कार्यक्रममा कांग्रेस नेता पौडेलले महाअभियोग प्रस्तावबारे ढुलमुले एवं अस्पष्ट अभिव्यक्ति दिए । यसबारे पार्टीभित्र समीक्षा भइरहेको पौडेलले बताए ।