कार्तिक १२ गते शुक्रबार देखि देशभर प्रदर्शनमा आउदै चलचित्र ‘परदेशीको उमंग’

 काठमाडौँ – नवनिर्माता कुमार बिसीले निर्माण गरेको चलचित्र ‘उमंग’ आगामी कार्तिक १२ गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शन हुदैछ । हिजो आइतबार राजधानीको सिटि म्याक्समा पत्रकार भेटघाट गरि निर्माण पक्षले उक्त कुरा जानकारी गराएको हो । नृत्य निर्देशक शिव शर्माले डेब्यु निर्देशन गरेको उमंगलाई केही दिन अघि अष्ट्रेलियाको सिडनीमा पनि प्रदर्शन पनि गरिएको थियो । चलचित्र हेर्ने सबै दर्शकले एउटा राम्रो नेपाली चलचित्र बनेको प्रतिक्रिया दिएको शर्माले बताएका छन् ।

उनले भने ‘उमंगलाई हामीले एउटा पृथक नेपाली चलचित्र बनाउने कोशिष गरेका छौ ।’ पछिल्लो पटक बजारमा आएका चलचित्र मध्ये पृथक रहेको र नेपालभर प्रदशन भए पछि आम दर्शकको मन जित्नमा निर्माण पक्ष ढुक्क रहेको जानकारी गराए । उनले भने– चलचित्रको नाम जस्तो छ, ‘यसले दर्शकलार्ई पनि उस्तै उमंग थपिदिने छ ।’ विगत दुई दशकदेखि चलचित्र नृत्य निर्देशमा गर्दै आएका शर्माले लामो समयदेखि चलचित्र क्षेत्रमा लागेर बटुलेको लामो अनुभवका कारण चलचित्र निर्माणमा प्रेरित भएर नेपालमा रोजगारी नपाएर विदेश पलायन भएको युवा वर्गको कथालाई समेटरे उमंग बनाएको बताए । कुमार बिसीको लगानीमा तयार भएको उमंगमा नायिका विनिता बरालको अभिनय रहेको छ ।

चलचित्रमा विनितासँगै नव नायक तथा निर्माता कुमार बिसी को पनि अभिनय रहेको छ । यो चलचित्रबाट नै बिसीले आफूलाई चलचित्र क्षेत्रमा स्थापित हुने जमर्को समेत गरेका छन् । ८० प्रतिशत छायाँकन दुवई र २० प्रतिशत नेपालको गुल्मी बागलुङ र काठमाडौंमा गरिएको छ । कार्यक्रममा चलचित्रले मनमा उमंग बोकेर परदेशीन बाध्य भएका परदेशीको कथा समेटिएको बताइएको छ । छायांकन सुरु भएदेखि नै चर्चामा रहेको उमंगले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ ।

चलचित्रमा बिनिता बराल र कुमार बि। सीसँगै सी। पी। पौडेल, रामबाबू रेग्मी, शिला श्रेष्ठ, रुपेश सुवेदी, राम थापा, उमेश कुमार के। सीलगायतका कलाकारको अभिनय रहेको छ । बसन्त अधिकारीको मुख्य सहायक निर्देशन रहेको चलचित्रमा अर्जुन पोख्रेल र बि। बि। अनुरागीको संगीत, कुमार महर्जनको द्वन्द्व, रबिन्द्र बरालको छायाँकन रहेको छ । चलचित्रका अभिनेता कुमार बिसीले नै यो चलचित्रको कथा लेखेका हुन् । आफूले विदेशमा बसेर दुःख तथा कष्ट भोगेको तथा सोही विषयवस्तुलाई चलचित्रको कथा बनाएको कुमारले स्पष्ट पारेका छन् । चलचित्रमा भारतीय गायक नाकाश अजिजको पाश्र्व गायन रहेको छ ।