लोकमानसिंहबारे आफूले एक्लै निर्णय गर्न नसक्ने देउवाको प्रचण्डलाई जवाफ

कात्तिक ४, काठमाडौँ – लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव पारित गर्नका लागि समर्थन खोज्दै प्रधानमन्त्री प्रचण्ड विहीबार बिहान बूढानीलकण्ठस्थित देउवा निवास पुगेका छन् ।

कांग्रेस सभापति देउवाले लोकमानसिंहमाथि लागेको महाअभियोगबारे आफूले एक्लै निर्णय गर्न नसक्ने जवाफ प्रधानमन्त्री प्रचण्डलाई दिएका छन् ।

देउवालाई भेटेपछि प्रधानमन्त्री प्रचण्ड लाजिम्पाटमा आयोजित माओवादी केन्द्रको हेडक्वार्टरको बैठकमा सहभागी भएका थिए, जहाँ उनले देउवाको भनाइ आफ्नो दलका नेताहरुलाई सुनाए ।

लाजिम्पाट बैठकमा प्रधानमन्त्री प्रचण्डले भने ‘देउवाजीले म एक्लै यसबारेमा निर्णय गर्न सक्दिनँ भन्नुभयो, आफ्नो पार्टीको बैठकमा प्रस्ताव लगेर यसबारे औपचारिक निर्णय गराउने देउवाजीको भनाइ थियो ।’

यसबारे सोधिएको जिज्ञासामा माओवादी प्रवक्ता पम्फा भुसालले अनलाइनखबरसँग भनिन्- ‘देउवाजीले एक्लै निर्णय गर्न सक्दिनँ, केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गराउँछु भन्नुभएको हामीलाई जानकारी आएको छ ।’

लाजिम्पाटमा सम्पन्न माओवादी बैठकले लोकमानको महाअभियोगबारे कांग्रेस सभापति देउवासँग थप छलफल गर्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ ।

नेपाली कांग्रेसको बैठकमा विहीबारै लोकमानको महाअभियोग प्रस्तावबारे छलफल हुँदैछ ।