ठूलो परिमाणमा पटाकासहित एक पक्राउ

कात्तिक ४, काठमाडौँ – इलाका प्रहरी कार्यालयले ठूलो परिमाणको पाटाका सहित एक आयातकर्तालाई आज नियन्त्रणमा लिएको छ ।

प्रहरी नायब उपरीक्षक नरेशराज सुवदीका अनुसार विराटनगरको पूर्व नयाँ बजार नाका हुँदै इटहरी ल्याई पु¥याइएको २० बन्डल (२८ हजार थान) पटाकासहित ती आयातकर्ता पक्राउ परेका हुन् ।

पटाका मास्टर भनेर चिनिने मोरङ बनिगाउँ–९का ३५ वर्षीय बद्रीनारायण चौधरीलाई उक्त परिमाणको पटाका र साइकलसमेत नियन्त्रणमा लिई विस्फोटक पद्धार्थसम्बन्धी ऐन २०१८ बमोजिम कारबाही अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

भारत विहारको जोगवनीबाट भारतीय व्यापारीले नेपालसम्म ल्याइदिने र पक्राउ परेका बद्रीनारायण चौधरीमार्फत सुनसरी र मोरङका सहर बजारमा ती पटाका बिक्री गर्ने उनी मुख्य व्यक्ति भएको बयानका क्रममा खुलेको पनि प्रहरीले जनाएको छ ।