ट्रकको ठक्करबाट तीनजनाको मृत्यु, १३ घाइते

 

 

 

कात्तिक ४ – सिरहाको मिर्चैयामा बुधबार राति ट्रकको ठक्करबाट बसमा सवार तीनजनाको ज्यान गएको छ । अन्य १३ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया–६ मा ना ५ ख ४८८९ नम्बरको बसलाई ना ३ ख ४१३० नम्बरको ट्रकले राति १२ बजे तिर ठक्कर दिएको हो ।
ठक्करबाट बसमा सवार भारत सिक्किम ग्यान्टोकका बस्ने ३३ वर्षका पायल अग्रवाल तथा ३० वर्षकी विन्दीया गुरुङ्ग र पाँचथर रवी–६ की ३५ वर्षकी ननुका राईको घटना स्थलमै ज्यान गएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
घाइते मध्ये अनुका थापा, विरु खरेल, सुमन र सोडिया थापालाई थप उपचारकोलागी न्युरो अस्पताल विराटनगर ल्याइएको छ भने अन्यको स्थानीय रेखा नर्सिङ्ग होम मिर्चैयामा उपचार भइरहेको छ ।
ठक्कर दिने ट्रकका चालक मकवानपुरको हेटौंडा–३ का फडेन्द्र राजपुरीलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले पक्राउ गरेको छ ।