संशोधनमा ढिलाइले कार्यान्वयनमा जटिलता : कोइराला

असोज २१,काठमाडौं- नेपाली काँगे्रसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान संशोधनको विषयमा दलबीच गतिरोध बढ्दै जाँदा संविधानको औचित्यमाथि नै प्रश्न उठ्ने बताउनुभएको छ ।

सिकिस्त बिरामी परेपछि उपचार गराई सार्वजनिक सभामा सहभागी हुन विहिबार आफ्नो निर्वाचन क्षेत्र नवलपरासीको गैँडाकोट आउनुभएका कोइरालाले दलबीच गतिरोध बढ्नु देशकै लागि घातक हुने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ नवलपरासी शाखाका पूर्वअध्यक्ष एवम् काँग्रेस जिल्ला सदस्य होमराज रानाभाटकी आमा ज्योतिमाया रानाभाटको १३औँ दिनको पुण्यतिथिको दिन बिहीबार गैँडाकोटमा भएको श्रद्धाञ्जलिसभामा आउनुभएका कोइरालाले पत्रकारसँगको भेटघाटमा यस्तो कुरा बताउनुभयो ।

तीनवटा निर्वाचन गर्नु निकै चुनौती रहेको, तर गर्छौं भन्ने दृढ शक्ति दलमा पैदा हुन सके सम्भव रहेको समेत उहाँले बताउनुभयो । “संविधान संशोधनबारे दलबीच सहमति हुन नसके देश ठूलो खाडलमा फस्न सक्छ, तर त्यो अवस्था आउन नदिन सबै मिल्नुको विकल्प छैन”, उहाँले भन्नुभयो ।

नवलपरासीको प्रदेश सीमा हेरफेरको हल्ला चले पनि नवलपुरबासीको ४ नम्बर प्रदेशमा नै बस्ने चाहना पूरा हुने डा कोइरालाले बताउनुभयो । नवलपुरका जनताको भावनासँग खेलबाड गर्ने अधिकार कसैलाई नभएको उहाँले बताउनुभयो ।