उपराष्ट्रपति स्वदेश फर्किंदा अस्तव्यस्त ट्राफिक

असोज ६, काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन भेनेजुयलाबाट फर्कने क्रममा बुधबार राजधानीका सडकमा सर्वसाधारणले सास्ती व्यहोर्नुपर्‍यो। असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिएर फर्कंदा अन्तर्राष्ट्रिय विमानस्थलदेखि कान्तिपथसम्मको सडक खाली गराइएको थियो। यसका कारण कार्यालय समयमा चक्रपथभित्रका सबैजसो सडकमा घन्टौँ जाम भएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

बिहान साढे नौ बजेदेखि १० बजेसम्मको समयमा सिनामंगलदेखि कान्तिपथसम्मको सडक उपराष्ट्रपतिको औपचारिक सवारीका कारण अस्तव्यस्त बनेको हो । राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीको औपचारिक कार्यक्रमहरूमा भने उपत्यकाको सडक अस्तव्यस्त बन्ने गरेको छ ।

त्यसमाथि कार्यालय समयमा भिभिआइपीको सवारी हुँदा सडकमा यातायात अस्तव्यस्त बन्ने गरेका छन् । सुरक्षा दृष्टिकोणले विशिष्ट व्यक्तिहरूको आवतजावतमा विशेष सतर्कता अपनाउने गरिन्छ । तर, तिनै व्यक्ति अनौपचारिक कार्यक्रममा जाँदा सडक खाली गरिँदैन भने औपचारिक कार्यक्रमको क्रममा पूरै सडक खाली गरेर सर्वसाधारणलाई सास्ती दिइन्छ । यस्तो अवस्थाले राजतन्त्रको झल्को दिएको भन्दै सर्वसाधारणले आलोचना गरेका छन् ।