लामो तथा मध्यम दूरीमा असोज ७ गतेदेखि दसैँको टिकट बुकिङ खुल्ला

 

असोज ३, काठमाडौँ – उपत्यकाबाट लामो तथा मध्यम दूरीका सवारी साधनबाट दसैँमा घर फर्कन चाहनेहरुका लागि असोज ७ गते शुक्रबारदेखि टिकट बुकिङ खुल्ला गरिएको छ ।

यातायात व्यवस्था विभागमा आइतबार सम्पन्न विभागका अधिकारी, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीचको बैठकले यस्तो निर्णय गरेको हो ।

विगत वर्षमा दसैँ आउन एक महिनाअघि नै टिकट बुकिङ खुल्ला गरिन्थ्यो । यसवर्ष ‘रुट परमिट’ नलिई यातायात सञ्चालन भएका कच्ची सडकमा दुर्घटना भई दर्जनौँको मृत्यु भएपछि यातायात सञ्चालनमा रोक लगाइएकाले टिकट बुकिङ खुल्ला गर्न ढिला भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कच्ची सडकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले नै अस्थायी ‘रुट परमिट’ दिने निर्देशन दिएपछि टिकट बुकिङ खुल्ला गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए ।

घटस्थापनाको एक साताअघि असोज ७ गते उपत्यकाका १२ स्थानबाट लामो तथा मध्यम दूरीमा जाने सवारी साधनको टिकट बुकिङ खुला गरिएको छ ।

गोङ्गबु नयाँबसपार्क, बालाजु, चावहिल, जोरपाटी, साँखु, बनेपा, गौशाला, कोटेश्वर, सातदोबाटो, बल्खु, कलङ्की र पुरानो बसपार्कबाट अग्रिम टिकट बुकिङ खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष डोलनाथ खनालले बताए ।

“टिकट बुकिङ खुला गरिएका १२ वटै स्थानमा यात्रुका लागि सहयोग कक्ष पनि राखिनेछ, सहयोग कक्षमा विभागका कर्मचारी, ट्राफिक प्रहरी र यातायात व्यवसायीका प्रतिनिधि रहनेछन्” – उनले भने ।

सहयोग कक्षले बढी भाडा लिने, दोहोरो सिटको टिकट वितरण गर्ने, टिकटको कालोबजारी गर्नेलगायत समस्या समाधानका लागि पहल गर्ने विभागले जनाएको छ । यसवर्ष दसैँदेखि छठपर्वसम्म लामो तथा मध्यम दूरीका सबै सवारी साधनमा दुईजनालाई मात्र विद्यार्थी सहुलियत दिने महासङ्घका अध्यक्ष खनालले बताए ।