प्रधानमन्त्री दाहालको अमेरिका भ्रमण रद्द

असोज ३, काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालको संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा भाग लिनका लागि आजदेखि तय भएकोे संयुक्त राज्य अमेरिकाको भ्रमण रद्द भएको छ ।

मधेसी, थारु, जनजातिका प्रतिनिधिलगायत आन्दोलनरत दलले अहिले विदेश भ्रमण गर्नुभन्दा उनीहरुका समस्या सम्बोधनमा ध्यान दिनुपर्छ भन्ने आवाज उठेकाले भ्रमण रद्द भएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।

“विदेश भ्रमण होइन, संविधान कार्यान्वयन र पुनःनिर्माणका काममा प्रधानमन्त्री लाग्नुपर्छ भन्ने जनआवाज आएको सन्दर्भलाई विचार गरेर देशभित्रकै समस्या समाधानमा ध्यान केन्द्रित गर्ने उद्देश्यले महासभामा प्रधानमन्त्री दाहालले भाग लिन जाने कार्यक्रम रद्द गरिएको छ” – सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि प्रधानमन्त्री दाहालले महासभालाई सम्बोधन गर्ने र केही उच्चस्तरीय एवम् द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियो ।

महासभामा सहभागी हुन परराष्ट्रमन्त्री डा महत हिजो आइतबार नै न्युयोर्क प्रस्थान गरिसक्नुभएको छ ।