गर्भवती सरकार र डाक्टर काँग्रेस

काठमाडौँ – कुनै पनि सजिव प्राणीको स्त्री जाति गर्भवती हुने भन्ने कुरा कुनै नौलो होइन र यो नहुनु भन्दा हुनु राम्रो मानिन्छ र स्वभाविक पनि हो । त्यस्ता जीव जन्तु गर्भवती भइसकेपछि पक्कै पनि सबैले निश्चित समय पुगेपछि आ–आफ्ना सन्तानलाई जन्म दिन्छन् नै कतिपय अवस्थामा भने गर्भ तुहिएको पनि हामी भेट्टाउँछौँ । तर यतिबेला नेपालमा सरकार गर्भवती भएको भन्ने गरिएको छ ।

सामाजिक सञ्जालका भित्ताहरू पनि त्यस्तै तस्विरहरूले रङ्गिने गरेका छन् । यो सोसल मिडियामा एउटा नौलो प्रायोग भएको छ । नेपालमा सरकार फेरिरहने चलन नौलो होइन तर यसभन्दा पहिलेका सरकार फेरिनु र ओली सरकार ढालेर पुष्पकमल दाहालको नेतृत्वमा सरकार बन्नु फरक देखिएको छ । विगतका सरकार बन्दा समय तोक्ने गरिँदैनथ्यो । यसपाली जम्मा नौ महिनाको लागि पुष्पकमल दाहाललाई सरकारको नेतृत्व गर्ने जिम्मा दिइएको छ । नेतृत्वको जिम्मा उनलाई दिए पनि नाक छेडिएको पशुलाई नाकमा डोरी लगाएर चौरमा किलो गाडेर बाँधेजसरी सीमित दुरीसम्म मात्र पुग्न सक्नेगरी बाँधिएको छ । उनीमािथ लगाइएको डोरी नरेन्द्र मोदीको आदेश अनुसार शेरबहादुर देउवाले समाउँदै आएका छन् । सरकार गठन हुँदाको अवस्थामा नौ महिने कार्यकाल दिइएको हुँदा प्रचण्ड सरकारलाई गर्भवती र म्यादी सरकारको उपनामले पनि चिनाउने गरिएको छ ।

नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा आफैँले नौ महिने म्याद दिएर आफैँ डाक्टरको भूमिकामा रहेको हुँदा बीचबीचमा गरिने चेकअफमा उनले कस्तो भूमिका निभाउँछन् भन्ने कुरामा निर्भर गर्छ यदि डाक्टरले बेइमान ग¥यो भने गर्भ तुहिन पनि सक्छ । यहाँनेर अलि अनौठो के भएको छ भने सरकारलाई गर्भ बोकाउने पनि शेरबहादुर देउवा, दाहाल नेतृत्वको सरकारले अर्को सरकाररुपी बच्चा नजन्माउँदासम्म त्यसको रखेदेख र स्याहार सुरार गर्ने पनि देउवा र भोलि प्रचण्ड सरकारको गर्भबाट जन्मने पनि देउवा नै हुन्, त्यसैले गर्दा यो अलि आश्चर्य जनक जस्तो देखिए पनि भोलिको समयले यसैलाई यथार्थमा बदलिदिने निश्चित जस्तै छ ।

यतिबेला गर्भवती सरकारको रेखदेखमा तल्लीन भएका शेरबहादुर देउवा आफू त उपचार गराएका आएका छन् । तर अब उनी गर्भवती सरकारको उपचारमा कसरी सक्रिय हुन्छन् र उनले अरु बाह्य शक्ति कस–कसको सहयोग लिन्छन् र सकारको उपचार कसरी गराउँछन् त्यो समयले देखाउने नै छ । यीनले यो सरकारले बोकेको गर्भलाई बीचैमा तुहाइदिए भने आइन्दा सरकारको नेतृत्व लिन उनी आफैँलाई हम्मे पर्ने छ र आफूले गरेका कवल अनुसार नौ महिनासम्म प्रतिक्षामा बसे भने र माओवादी केन्द्रले यस अघि एमालेले दिएको जस्तै धोका दिएन भने देउवा प्रचण्ड पछिका प्रधानमन्त्री चिश्चित छन् । देउवाकै दल नेपाली काँग्रेसबाट सरकारको नेतृत्व लिएर प्रचण्ड सरकारमा उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी सम्हालेका देउवाका विश्वास पात्र विमलेन्द्र निधीले भन्न थालिसकेका छन् ‘यो सरकार निर्वाचन नगराउँदासम्म निरन्तर चलिरहन्छ ।’ अब यहाँनेर के बुझ्न गारो भएन भने कुर्सीमा पुगेपछि पार्टीको निर्णय भन्दा पनि पद ठूलो कुरा हो रहेछ ।

राजनीतिमा रातारात ठूलै परिवर्तन पनि नभएका होइनन् र अबका दिनमा त्यो नहोला भन्न पनि सकिदैन । जसरी एमाले माओवादी केन्द्रको गठबन्धन छोटो समयमै टुट्यो त्यसैगरी काँग्रेस माओवादी केन्द्रको पनि नटुट्ला भन्न सकिन्न । देउवाले यो सरकार ढाले भने उनले फेरी नयाँ गठबन्धन नबनाइकन आफू सत्ताको नेतृत्वमा पुग्न सक्ने छैनन् । प्रचण्ड सरकारको गर्भमा रहेका देउवा आफूले आफैँलाई पूर्ण तन्दुरुस्त हुन दिनुपर्ने कुरा बुझेकै हुनुपर्छ । अहिले उनले दायाँ बायाँ गरेभने भोलि आफैँलाई सहज नहुन सक्छ । यो सरकार सफल वा असफल हुनुमा देउवाको मात्रै होइन अन्य दलको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । वर्तमान समयमा जटिल बनेका समस्याको समाधान गर्न लागि पर्ने हो र त्यसमा सफलता प्राप्त गर्ने हो भने यो समय प्रचण्डको लागि अवसर पनि हो अवसरका सामु चुनौती पनि उत्तिकै रहेको छ । अहिलेको मुख्य समस्या भनेको संविधान कार्यान्वयनको हो जसका लागि आन्दोलनरत मधेशी मोर्चालाई वार्तामा ल्याएर उनीहरूको माग पूरा गराउनु पहिलो कार्य हुनेछ । मधेशी दलको मागलाई सम्बोधन नगरि संविधान कार्यान्वयन गर्न सकिँदैन । भूकम्प पीडितको समस्या जस्ताको तस्तै छ । राहत स्वरुप दिने भनेको दुईलाख रुपैँयाको पहिलो किस्ता पचास हजार प्राप्त गर्न नसकिरहेको अवस्थामा दाहाल सरकारले पुनः एक लाख थपेर राहत रकम जम्मा ३ लाख र निव्र्याजी ऋण रु.३ लाख र सहुलियत व्याजमा २ लाख गरी ८ लाख पु¥याउने निर्णण गरेको छ । निर्णय गर्नुमात्रै ठूलो कुरा होइन त्यसलाई व्यवहारमा ल्याउनु ठूलो कुरा हो । यदि बोलेरै बिकिने भए त केपी ओलीले कस्ता कस्ता कुरा बोलेका थिए । तर उनका ती बोली र भाषणले विश्लेषकहरूलाई विश्लेषण गर्ने विषय, पत्रकारलाई समाचार बनाउने विषय र कलाकारहरूलाई गीत बनाउने विषय भन्दा अरू केही दिएन । छोटो अवधिको सरकार भएपछि जति ठूला महत्वाकाङक्षी योजना प्रस्तुत गर्दा पनि हुने रहेछ कि जस्तो महशुस हुन थालेको छ । किनकी आप्mनो सरकार छिटै ढल्छ र सरकार ढलिसकेपछि आफूलाई काम गर्न दिइएन र गर्न पाइएन भनेर सजिलै उम्कन पाइन्छ जसले गर्दा बोल्दैमा बिर्गने केही होइन जस्तो लागेर बोल्ने बानी परेको हुन सक्छ । बोलेको कुनै पनि कुरालाई व्यबहारमा उतार्ने हो भने जनताले विश्वास गर्ने आधार पनि बन्छ । भूकम्प गएको १६ महिना पुग्नै लाग्यो अझै पनि धेरै पीडितले पहिलो किस्ताको पाचास हजार रुपैँया पाएका छैनन् जसले गर्दा सरकारको पछिल्लो निर्णयप्रति जनतामा कुनै उत्साह नै देखिएको छैन ।

यदि सरकारले गरेको पछिल्लो निर्णय व्यवहारमा ल्यायो र तीन लाख नै दियो भने पनि त्यसले धेरै समय लिने छ । सत्ता साझेदारको प्रमुख दल नेपाली काँग्रेस भए पनि आफू प्रधानमन्त्री हुनेबेला लामो समयदेखि आन्दोलनमा रहेका मधेशी मोर्चाले प्रचण्डको पक्षमा मतदान गरेका थिए । त्यो मत प्रचण्डलाई दिनुपूर्व उनीहरूको केही सर्तमा हस्ताक्षर समेत भएको थियो । अहिले आएर मधेशी मोर्चा सरकारले आप्mनो मागप्रति चासो नदिएको भन्दै सरकारलाई दिइएको समर्थन फिर्ता लिने चेतावनी दिइसकेको छ ।

मधेशी मोर्चाले समर्थन फिर्ता लिँदैमा प्रचण्ड सरकार ढल्ने त होइन तर पनि फेरी आन्दोलमा ओर्लियो भने धक्का अवश्य लाग्ने छ । प्रचण्ड प्रधानमन्त्री हुँदा आन्दोलनरत मधेशी मोर्चाले उनलाई समर्थन गर्दा आम नेपालीमा छुट्टै किसिमको खुशी र आशाको टुसा पलाएको थियो । तर त्यो खुशी र आशा अब फेरी निराशातिर ढल्किँदै जान थालेको छ । मेधेशी मोर्चाले आन्दोलन थाल्दा शुसील कोइरालाको नेतृत्वमा सरकार थियो तत्कालीन सरकारको पालामा उनीहरूको मागका सम्बन्धमा दर्जनौँ पटक वार्ता भए तर ती वार्ता केवल चिया र कफी खान मात्रै सीमित रहे । उनीहरूको विरोध रहँदा रहँदै संविधान निर्माण भयो र जारी भयो संविधान जारी भएको दिन आधा नेपालीले खुशी मनाए भने आधा नेपालीले कालो दिन मनाए । संविधान बनेको वर्षदिन पुग्नै लाग्दा फेरी त्यही दिन दोहोरिन प्रायः निश्चित छ ।

मधेशीको माग पुरा नभए आगामी असोज ३ गते पनि त्यो दिन दोहोरिन्छ नै । माग राख्नेले माग राखे पनि पूरा गराउन नसक्नेले पूरा गर्न नसक्ने माग पूरा गराउने आश्वासशन दिँदा यो प्रवृति दोहोरिएको छ । विगतमा जेजे भए पनि अब कसैले कसैप्रति पूर्वाग्रह नराखी अगाडिको बाटोलाई हेरेर अबका जटिल मद्दामा केन्द्रित हुँदै राष्ट्रिय समस्याको निकास खोज्न तिर लागेर सबै मिली देशलाई निकार दिनु नै सर्वोपरी हुन जाने छ ।

साभार् – MOTIVATENEWS.COM