उपत्यकाका नदीबाट अठार मेट्रिक टन फोहर व्यवस्थापन

भदौ २५, काठमाडौं –  उपत्यकाका प्रमुख नदी सफाइ गरी १८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

बागमती सफाइ महाअभियानको १७४ औँ हप्तामा आज टेकु दोभानमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । सफाइका क्रममा बङ्गुरलगायत चौपाया बध गरी रगत नदीमा बगाउनेको अनुगमन काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ नेतृत्वको समूहले गरेको थियो ।

सफाइमा अधिकार सम्पन्न बागमती समिति, कामनपा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पचलीघाटस्थित चिन्तामणि महिला क्लबलगायत विद्यार्थीको पनि सहभागिता थियो । बागमती किनारस्थित पचलीघाटमा बागमती समिति, महानगरपालिका र चिन्तामणि महिला क्लबको सहकार्यमा उद्यान निर्माण गरी नदी संरक्षणमा सहयोग पु¥याउने सहमति भएको अधिकार सम्पन्न बागमती आयोजनाका निर्देशक राजेशप्रसाद सिंहले जानकारी दिनुभयो ।

“उद्यानका लागि महानगरपालिकालाई नमुना लागत (डिजाइन इस्टमेट) गर्ने अधिकार दिइएको छ, उद्यान निर्माणपछि नदी किनारको सार्वजनिक जग्गा संरक्षण हुनुका साथै बागमतीलाई सफा बनाउन पनि सहयोग मिल्ने आशा गरिएको छ”–उहाँले भन्नुभयो ।

सफाइमा पूर्व मुख्यसचिव लीलामणि पौडेल, पूर्व सचिव किशोर थापालगायतका व्यक्तित्वको सक्रिय सहभागिता थियो । सफाइसँगै टेकु दोभान आसपासका घर–घरमा गई जनचेतनामूलक अभियान पनि सञ्चालन गरिएको छ । नदीमा फोहर नफालौँ, फाल्नेलाई कारबाहीको दायरामा ल्याऔँ, उपत्यकाका नदी सफाइमा सबै सहभागी बनौँ भनी टेकुवासीमा जागरण फैल्याइएको बागमती समितिकी माला खरेलले जानकारी दिनुभयो ।

आगामी शनिबार १७५ औँ हप्ताको बागमती सफाइ बागमती र मनोहरा दोभान शङ्खमुलमा हुने सो अवसरमा जानकारी गराइयो । सफाइसँगै बागमती समितिले निर्माण गरेको ज्येष्ठ नागरिक क्लिनिक पनि सञ्चालनमा ल्याइने निर्देशक सिंहले बताउनुभयो ।

रुद्रमती सफाइको १३३ औँ हप्तामा आज ज्ञानेश्वर–डिल्लीबजार–मैतीदेवी–रातोपुलसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका अध्यक्ष वासुदेव मरासिनीले बताउनुभयो । वर्षाका कारण पर्खाल लगाइएको नदीमा पस्न नसकिने भएकाले नदी आसपासको क्षेत्रमा सफाइ गरिएको हो । सफाइमा प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा लगायत व्यक्तित्वको उपस्थिति थियो ।

विष्णुमती नदीको १०९ औँ हप्तामा आज डल्लुपुलमुनि सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी सानुमैयाँ महर्जनले जानकारी दिनुभयो । सफाइमा सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत स्थानीय संस्थाको उपस्थिति थियो ।

नख्खु खोला सफाइको ६१ औँ हप्तामा आज नख्खु पुलमुनि सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको नख्खुखोला सरोकार समाजका अध्यक्ष बलु पाण्डेले जानकारी दिनुभयो । सफाइमा कार्यविनायक नगरपालिकाका कर्मचारीलगायत स्थानीयवासीको सक्रियता थियो । सफा गरी निकालिएको फोहर ‘नेप्से म्याक’ प्रालिले व्यवस्थापन गर्नेछ ।

गुह्येश्वरीमाथिको बागमती क्षेत्रमा राम्रो जोरपाटी हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज र माकालबारी टोल सुधार समितिले सफाइ गरेका छन् ।