संबिधान संशोधन नगरिए कार्यान्वयन हुन नदिने उपेन्द्र यादवको चेतावनी

भदौ २५ , रामेछाप – संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संबिधानले राष्ट्रिय बिबिधतालाई समेट्न नसकेको आरोप लगाएका छन्  । संबिधान जारी हुनुपूर्व राष्ट्रिय एकता मजबुत पार्ने अबसर भएपनि त्यो अबसरलाई प्रमुख ३ दलले सदुपयोग गर्न नसकेको उनले जिकीर गरे  ।

संघिय समाजवादी फोरम नेपाल रामेछापले आज गरेको पार्टी समायोजनमा उनले आफूहरुको माग संबिधान पुनर्लेखन नभई संशोधन मात्र रहेको स्पष्ट पारे  । यस अघिको सरकारसँग ३६ पटक बार्ता भएपनि सरकार समस्या समाधानमा गम्भिर नभएको आरोप लगाउँदै नेता यादवले संबिधान संशोधन गर्ने सर्तमा मात्रै गठबन्धनले नयाँ सरकारलाई समर्थन गरेको प्रस्ट पारे  । आफूहरुसँग भएको सहमति अनुसार संबिधान संशोधन नगरिए कार्यान्वयन हुन नदिने चेतावनी दिए  ।

नयाँ सरकार बनेको दुई महिना भईसक्दा पनि आफूहरुका माग पूरा गर्न कुनै पहल सुरु नगरेको भन्दै अध्यक्ष यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण अघि नै सम्झौता कार्यान्वयन गर्न आग्रह गरे । राजनीतिक सहमति बिना स्थानीय र केन्द्रीय चुनाव सम्भव नरहेको भन्दै उनले अहिलेको स्थीतिमा चुनाव हुनै नसक्ने जिकीर गरे  ।