पशुपति परिसरको पुनर्निर्माण भारतलाई दिने प्रस्ताव फिर्ता

भदौ २३ , काठमाडौं- भूकम्पमा क्षतिग्रस्त बनेको पशुपति परिसरका मठमन्दिर बनाउने जिम्मा भारतीयलाई दिने प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले फिर्ता गरिदिएका छन् ।

पशुपति मन्दिर परिसरका २५ भन्दा बढी मठमन्दिर, सत्तलसहितका सम्पदा जीर्णोद्धारका लागि भारत सरकारलाई अनुमति दिन सरोकारवाला निकायबीच केही दिन अघि सहमति भएको थियो ।

बुधबार नेपाल पर्वतारोहण संघको २६ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री शाहीले पशुपति क्षेत्रभित्रका मन्दिरसमेत बनाउने गरी भारतीय प्रस्ताव आएको बताउँदै आफूले त्यो प्रस्ताव फिर्ता गरेको बताए ।

उनले पशुपति नेपालको धरोहर भएको भन्दै मन्दिरको भित्री क्षेत्रको निर्माण नेपाल सरकार आफैंले गर्ने बताए । –कारोबार दैनिकबाट