कास्कीको लेखनाथमा पहिरोमा घर पुरिँदा चार बालबालिकाको मृत्यु

भदौ २३, पोखरा  – कास्कीको लेखनाथमा पहिरोले घर पुरिँदा चार बालबालिकाको ज्यान गएको छ ।
लेखनाथ ४ खरानीटारमा घरमाथिको ढिस्को खसेर पुरिँदा दुई बालिका र दुई बालकको ज्यान गएको हो । दुई जना गम्भिर छन् ।
अविरल बर्षाको कारण गएराति १२ बजे ढिस्को खस्दा १० बर्षीय रजिना सुनार, ८ बर्षीय अञ्जिला सुनार, २ बर्षीय सलमान सुनार र १४ बर्षीय निसान सुनारको ज्यान गएको हो । उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको हो । पहिरोमा पुरिएका २५ बर्षीय माया सुनार र ११ बर्षीय सजिना सुनारको अबस्था गम्भिर छ ।
त्यस्तै कालिका गाविस ६ को पुनपधेलीमा पहिरो जादा ४८ बर्षीय भिमा तिमल्सिना र ५३ बर्षीय मोदराज तिमल्सिना पनि गम्भिर घाईते भएका छन् । उनीहरुको गण्डकीमा उपचार भैरहेको छ । घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।