आज कृष्ण जन्माअष्टमी पर्व मनाइँदै

भदौ ९ , काठमाडौँ –आज कृष्ण अष्टमी पर्व मनाइँदैछ । भाद्र कृष्ण अष्टमीका दिन भगवान श्रीकृष्णको जन्म जयन्तीका रुपमा यो पर्व मनाइँदैछ । द्वापर युगमा भगवान् श्रीकृष्णको यसै रातजन्म भएको पौराणिक कथामा उल्लेख छ । ललितपुर पाटनको श्रीकृष्ण मन्दिर, काठमाडौको डिल्लीबजार पिपलबोटस्थित राधाकृष्ण मन्दिर, रामचन्द्र वहाल, पशुपति मन्दिर परिसरको श्रीकृष्णको प्रतिमा, हनुमानढोकास्थित कृष्ण मन्दिर, गोठाटारको कृष्ण मन्दिरलगायत मुलुकका सबै कृष्ण मन्दिरमा सनातन धर्मावलम्बीले पूजा आराधना गर्दैछन् ।

कृष्ण प्रणामी संस्था तथा विदेशी कृष्णभक्तको अन्तर्राष्ट्रिय संस्था (स्कोन)ले पनि बूढानीलकण्ठलगायतका स्कोन केन्द्रमा भगवान् श्रीकृष्णको स्तुति आयोजना गरेका छन् । पाटनस्थित कृष्ण मन्दिर जीर्णाेद्धारका क्रममा रहेकाले कृष्ण मन्दिरनजिकै भगवान् श्रीकृष्णको पादुका राखी पादुकामा नै पूजा गर्ने व्यवस्था मिलाइएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ गर्भका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ । आज सरकारले सार्वजनिक विदा दिएको छ ।