नेविसंघको विवाद मिल्यो, दिउँसो नयाँ निर्वाचन कार्यतालिका र मतदाता सुची आउने

साउन २८, काठमाडौँ –  नेपाल विद्यार्थी संघको जारी महाधिवेशनमा देखिएको विवाद समाधान उन्मुख देखिएको छ ।

प्रतिनिधि विवाद भागबण्डाको आधारमा बुधबार बिहानै मिलाइए पनि थप गरिएका प्रतिनिधिका सूची प्राप्त नभएका कारण बन्दसत्र सुरु हुन सकेको थिएन । प्रतिनिधि विवाद मिलाउन कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समर्थक विद्यार्थी समूहलाई २ सय १५ र नेविसंघका पूर्व अध्यक्ष महेन्द्र शर्मालाई १ सय १० प्रतिनिधि थप दिनेगरी समझदारी बुधबार भएको थियो ।
उक्त समझदारी अनुसार सिटौला र शर्मा समूहका विद्यार्थी नेताहरुले प्रतिनिधिको सूची नबुझाएपछि हिजो सुरु हुने भनिएको बन्दसत्र र अन्तिम मतदाता नामावली प्रकाशित गर्ने प्रकृया अघि बढ्न सकेको थिएन । नेविसंघ नेता युपी लामिछानेका अनुसार रातभरको प्रयास पछि निर्देशक समितिले मतादाता सुची प्रकाशनमा देखिएको विवाद समाधान गरेको छ ।
पूर्व तालिका अनुसार नभए पनि अब विवाद मिलेकाले आज दिउँसो सम्म नयाँ निर्वाचन तालिका र मतादाता सुची सँगसँगै आउने लामिछानेले जानकारी दिए  ।