क्षतिग्रस्त भद्रकाली मन्दिर पुनःनिर्माण गरिँदै

साउन २७, पोखरा – अघिल्लो वर्षको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पका कारण क्षति पुगेको पोखराको प्रशिद्ध भद्रकाली मन्दिरको पुनःनिर्माण गरिने भएको छ ।

पोखरा उपमहानगरपालिका वडा नं १२ र १३ मा अवस्थित मन्दिरका चारैवटा भित्ता भूकम्पका कारण चर्केको र वरपरका पाटी तथा सत्तलमा समेत क्षति पुगेका कारण त्यसको पुनःनिर्माण गर्न लागिएको हो ।

लगभग २०० वर्ष पुरानो मन्दिर क्षतिग्रस्त बनेपछि श्रीगणेश तथा भद्रकाली मन्दिर सेवा समितिले पुरातत्व विभागसमक्ष पुनःनिर्माणका लागि पत्राचार गरेकामा विभागको स्मारक संरक्षण शाखाले पूर्ववत् स्वरुपमा पुनःनिर्माणका लागि स्वीकृति दिएपछि त्यसको निर्माणका लागि डिजाइन तयार गर्न लागेको समितिका सचिव योगेन्द्रमान श्रेष्ठले बताउनु भयो ।

स्वीकृतिसँगै समितिले प्राविधिक नापजाँच गराएर कुल लागत अनुमान निकाल्ने र निर्माण कार्यको प्रक्रिया अघि बढाउने उल्लेख गर्दै उहाँले भद्रकाली मन्दिरको पुनःनिर्माणका लागि लगभग रु तीन करोडदेखि पाँच करोडसम्म लाग्ने अनुमान गरिएको बताउनुभयो ।

भद्रकाली मन्दिर क्षेत्रको समग्र विकासका लागि भद्रकाली वृहत् गुरुयोजना तयार गरिएको छ । मन्दिरको स्वामित्वमा १३५ रोपनी जग्गामा प्राचीन धरोहर रहेको छ ।

प्राचीनकालदेखि पोखरा र यस आसपासका क्षेत्रमा अत्यन्त आस्था र विश्वास बोकेको मन्दिरको स्थापनाको इतिहास खोतल्दा विस १९०१ मा रामचन्द्र खत्रीले गणेश मन्दिरको स्थापना गरेका र विस १९०३ मा गुठीको लालमोहर प्राप्त गरी मन्दिरको नित्य पूजाआजा गर्ने गरिएको पाइन्छ ।

उच्च भागमा अवस्थित मन्दिरमा पुग्न फेदीबाट दुईवटा बाटो रहेकामा पूर्वी भागबाट २९२ वटा सिँढी उक्लनुपर्छ भने दक्षिण भागबाट २६५ सिँढी उक्लनुपर्छ ।

प्रत्येक वर्षको आश्विन शुक्ल पक्ष र चैत शुक्ल पक्षका साथै बाला चतुर्दशीमा मन्दिर परिसरमा विशेष मेला लाग्ने गरेको छ । भूकम्पका कारण मूल मन्दिरका भित्ता चर्केको र आसपासका पाटी तथा सत्तल जोखिमपूर्ण अवस्थामा रहेकाले टेको लगाएर राखिएको छ ।