त्रिवि परिसरको अव्यवस्था : बाहिर गाई चर्छन्, कक्षाभित्र कुकुर

साउन २५ ,काठमाडौं– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रमा बगैंचे, कुचीकार, चौकीदारलगायत कर्मचारी नै साढे २ सय कार्यरत छन्। विश्वविद्यालयको बाहिरी वातावरण व्यवस्थित र सफासुग्घर बनाउने जिम्मेवारी रहेका उनीहरुको तलब र सेवासुविधामा बर्सेनि साढे ७ करोड रुपैयाँ खर्च हुन्छ।

कर्मचारी र खर्चको अनुपातलमा त्रिवि क्षेत्र जति व्यवस्थित र सफा हुनु पर्ने हो, त्यो भने छैन। यही गैरजिम्मेवारीकै कारण मुलुकै जेठो विश्वविद्यालय परिसरमा छाडा पशुको चरनस्थलमा परिणत हुँदैछ। भुस्याहा कुकुरको बिगबिगी उत्तिकै छ।

विश्वविद्यालय कर्मचारी महाशाखाका उपप्रशासक विष्णु अर्यालका अनुसार प्रिन्सिपल र कुचीकार गरी ३९ कार्यालय सहयोगी छन्। कमएचारी आफ्नो जिम्मेवारी पूरा नगर्नुका साथै सम्बन्धित निकायले पनि यसतर्फ चासो नदिँदा त्रिविको बिजोग भएको उनले सुनाए।

अव्यवस्था भने यतिसम्म छ कि पढाई भइरहेकै समयमा गाई र कुकुर सरासर कक्षाकोठा छिर्छन्। यस्तो समस्याले आजित विद्यार्थी र प्राध्यापकले पटक पटक गुनासो गरेपनि व्यवस्थापनले सुनुवाइ गरेको छैन। त्यसो त विश्वविद्यालय परिसर नै कुनै खुल्ला सार्ववनिक स्थानभन्दा फरक छैन।