‘रिमोट कन्ट्रोल’बाट नचल्न एमालेको प्रधानमन्त्री प्रचण्डलार्इ सुझाव

साउन २५ ,काठमाडौं– प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रिमोट कन्ट्रोलबाट नचल्न सुझाव दिँदै राष्ट्रिय स्वाभिमानका साथ काम गर्दा कप्ठ्यारो परे सगोत्रीलाई सम्झन आग्रह गरेको छ।
‘सरकारको नेतृत्व अरुबाट निर्देशित हुनु र रिमोट कन्ट्रोल अरुको हातमा भएजस्तो गरी चल्नु उपयुक्त हुँदैन,’ एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले भने,‘संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीलाई हामी त्यही हैसियतमा देख्न चाहन्छौं।’

नयाँ सरकार निर्माणपछि पहिलो पटक सोमबार बसेको संसद बैठक नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई र शुभकामना दिनमा केन्द्रीत थियो। त्यस क्रममा सांसदहरुले संविधान कार्यान्वयन, सहमति निर्माण, सुशासन र विकासमा केन्द्रीत रहन सरकारको ध्यानाकर्षण गराए।

एमालेले तीन तहको निर्वाचनसहित पूर्ववर्ती सरकारले अघि सारेको संविधान कार्यान्वयन कार्ययोजनालाई प्राथमिकतामा राख्न सुझाव दिएको छ।