साउदीमा अलपत्र नेपालीको तत्काल उद्धार गर्न निर्देशन

साउन २५ ,काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साउदी अरबलगायतका मुलुकमा रहेका नेपाली कामदारको उद्धारका लागि पहल गर्न परराष्ट्रसचिव शंकरदास वैरागीलाई निर्देशन दिएका छन्। त्यसलगत्तै परराष्ट्र मन्त्रालयले विभिन्न दूतावासलाई उद्धार गर्नुपर्ने अवस्थाका नेपालीबारे जानकारी पठाउन निर्देशन दिएको छ।

साउदी अरबमा काम गर्न गएका नेपाली अलपत्र परेको समाचार आएपछि प्रधानमन्त्रीले यसमा चासो राखेका हुन्। ‘प्रधानमन्त्रीज्यूले साउदी अरब, श्रीलंकालगायतका स्थानमा नेपाली अलपत्र परेका विषयमा आएका सूचनाहरूबारे सोध्नुभयो, मैले उहाँलाई सबै कुराको जानकारी दिएँ,’ परराष्ट्रसचिव वैरागीले भने, ‘प्रधानमन्त्रीज्यूले नेपालीहरू अलपत्र छन् भने तत्कालै उद्धार गर्न पहल गर्नुस् भन्नुभएको छ, हामी यसमा क्रियाशील छौँ भन्ने पनि मैले जानकारी गराएको छु।’

साउदीका कम्पनी धरासायी

साउदी अरबमा आर्थिक संकट बढेसँगै कम्पनीहरू धरासयी भएपछि कामदारहरूले समस्या खेप्न थालेका छन् । गत साता भारतले आफ्ना कामदारहरू फिर्ता गरेको छ। भारतका परराष्ट्र राज्यमन्त्री भिके सिंह साउदी अरब पुगेर भारतीयहरूलाई स्वदेश फिर्ता गरेका थिए। साउदी अरबको राजधानी रियाद र दमाम सहरमा रहेकामध्ये केही नेपाली फिर्ता भएको, केहीलाई त्यहीँ रोजगारको अर्को प्रबन्ध मिलेको र केही फर्कने कि नफर्कने भन्नेमा निर्णयमा अझै पुगिनसकेको परराष्ट्रसचिवले बताए।

रियाद र दमाममा नेपालीलाई समस्या

रियाद र दमाम सहरमा रहेको ओजिआर कम्पनीमा कार्यरत नेपालीलाई समस्या भएको विवरण परराष्ट्र मन्त्रालयमा आएको छ। दमाममा नेपाली महावाणिज्यदूतावास छ भने रियादमा नेपाली दूतावास छ। दमाममा सो कम्पनीमा रहेका ४१ जनालाई समस्या परेको थियो। तीमध्ये ६ जना स्वदेश फर्किएका छन्। ११ जनालाई अर्को कम्पनीमा सारिएको छ, उनीहरूलाई समस्या छैन। तीमध्ये ९ जना स्वदेश फर्किने क्रममा छन्। बाँकी १५ जनाले भने फर्किने कि त्यहीँ रहने भन्ने निर्णय गर्न बाँकी रहेको परराष्ट्रसचिवले बताए। ‘तर, कोही पनि अलपत्र अवस्थामा छैनन्, हाम्रो दूतावासको सम्पर्कमा छन्, सुरक्षित छन्, खानेबस्ने प्रबन्ध छ,’परराष्ट्रसचिव वैरागीले भने ।