साउन १२,काठमाडौं–
प्युठानमा बाढी र पहिरोमा परि अहिलेसम्म मृत्यु हुनेको संख्या २० पुगेको छ भने २१ जना वेपत्ता भएका छन्।

थोप्ली–४ अधेरीखोलामा बुधवार विहान पहिरोले घर पुरिँदा तीनजनाको मृत्यु भएसँगै प्युठानमा मृतकको संख्या २० पुगेको हो। यसअघि मंगलबार प्युठानमा बाढी पहिरोमा परेर १७ जनाको ज्यान गएको थियो।

बुधवार बिहान घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा थोप्ली–४, का ७५ वर्षीय दोर्णबहादुर केसी र उनकी श्रीमती ७० वर्षीया पवित्रा केसी तथा सोही ठाउँका ७० वर्षीय नारायणबहादुर केसीको मृत्यु भएको प्युठान जिल्ला प्रहरी जनाएकाृ छ ।

प्रहरीका अनुसार घरमा सुतिरहेका बेला बिहान पहिरो खसेपछि केसी परिवारका दुईवटा घर पुरिएका हुन्।

यस्तै पहिरोमा सोही ठाउँका हरिबहादुर केसी, उनकी श्रीमती विन्दु केसी, स्थानीय जागेश्वर बुढाथोकी र उनकी श्रीमती पीमा बुढाथोकी बेपत्ता भएको राठौरले जानकारी दिए। प्रहरी घटनास्थल पुगेर बेपत्ताहरुको खोजी कार्य जारी राखेको राठौरले बताए।

पहिरोमा पुरिएकाहरुको उद्दार कार्य जारी रहेकाले मृतकको संख्या वढ्ने सक्ने प्रहरीले अनुमान गरेको छ। तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण प्युठानको जनजीवन अस्तव्यस्त बनेको छ।