भूकम्पपीडितलाई पहिलो किस्ता दिन २० अर्बको अख्तियारी

साउन १२,काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान पाउने भूकम्पपीडितलाई घर निर्माण गर्न पहिलो किस्ता रकम दिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई अख्तियारी दिएको छ।

प्राधिकरणका अनुसार करिब २० अर्ब रुपैयाँ बजेटको अख्तियारी दिएको हो। प्राधिकरणका अनुसार चार लाख ७४ हजार चार सय ४४ भूकम्पपीडितलाई पहिलो किस्ता रकम उपलब्ध गराउन २३ अर्ब ७२ करोड २२ लाख रुपैयाँ आवश्यक पर्छ। अनुदान रकम व्यवस्थापन गर्न सरकार र दातृ निकायको १९ अर्ब ३३ करोड नौ हजार एक सय ५० रुपैयाँ खर्च गर्न सकिनेछ।

बाँकी चार अर्ब ३८ करोड ३० लाख ५० हजार रुपैयाँ अघिल्लो वर्षको बचत तथा विभिन्न गैरसरकारी संस्थामार्फत उपलब्ध गराउने व्यवस्था गरिएको छ। उपत्यकाबाहिरका भूकम्प अति प्रभावित जिल्ला र ललितपुरको कार्यविनायक नगरपालिका गरी पाँच लाख ३३ हजार एक सय ६८ घरधनीको नाम दुई लाख रुपैयाँ अनुदान पाउने सूचीमा परेको छ। त्यसमध्ये ३७ हजार ७२ घरधनीको यसअघि पहिलो किस्तामा जम्मा भएको छ।

यसअघि सरकारले एक अर्ब ८५ करोड ३६ लाख रुपैयाँ अनुदान रकम वितरण गरेको छ। अर्थ मन्त्रालयले करिब ८४ अर्ब रुपैयाँको बजेट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई अख्तियारी दिएको थियो। अनुदान पाउन सूचीमा परेकामध्ये १९ हजार २२ घर पुनर्निर्माणका लागि विभिन्न गैरसकारी संस्थासँग सम्झौता भएको छ।

उनीहरूले प्राधिकरणबाट तोकिएका बैंकमार्फत नेपाल सरकारले उपलब्ध गराएसरह पहिलो किस्ता ५० हजार, दोस्रो किस्ता ८० हजार र तेस्रो किस्ता ७० हजार रुपैयाँ उपलब्ध गराउन सक्ने व्यवस्था छ। सो अख्तियारीमा गैरसरकारी संस्थामार्फत उपलब्ध गराइने रकम समावेश छैन।