सरकारको कसरतः आह्वान सहमतीय, तयारी बहुमतीय

साउन १२,काठमाडौं–राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना नभएपछि नयाँ गठबन्धनका प्रमुख घटक कांग्रेस र माओवादी केन्द्र बहुमतीय सरकार निर्माणको गहृकार्यमा जुटेका छन्।

सहमतीय सरकार बनाउन राष्ट्रपतिले दिएको समयसीमाभित्र आपसमा छलफल गरी मन्त्रालय बाँडफाँडको टुंगो लगाउने दुई दलको तयारी छ। त्यसका लागि माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र कांग्रेसबाट विमलेन्द्र निधिलाई जिम्मेवारी दिइएको छ।

कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिने मोटामोटी सहमति जुटे पनि कुन कुन मन्त्रालय लिने भने विषयमा समझदारी बनेको छैन।

‘पार्टीमा अन्य नेताहरुको सहयोग समेत लिने गरी मन्त्रालय बाँडफाँडमा सहमति जुटाउन दुई जनालाई जिम्मेवारी दिइएको छ,’ स्रोतले भन्यो,‘सात दिनको समयभित्रै मन्त्रालय टुंगो लगाउने काम हुन्छ।’ दुई दलले सुरुको चरणमा कांग्रेस, माओवादी, राप्रपा, नेकपा संयुक्तलाई सरकारमा सामेल गराउने तयारी गरेका छन्।