मकवानपुरमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनको मृत्यु

साउन ११,हेटौंडा – मकवानपुरको भीमफेदी–५ सोलुभन्ज्याङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

भीमफेदी–५ सोलुभन्ज्याङकी मनमाया स्याङतान घर पहिरोले पुरिँदा उनका छोरी–ज्वाइँ र नातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृत्यु हुनेमा मनमायाका ज्वाइँ २५ वर्षीय टेकवहादुर रुम्वा, २३ वर्षीय छोरी पार्वती रुम्वा र ५ वर्षीय नाती विकास रुम्बा रहेको प्रहरीले जनाएको छ।

छोरी ज्वाइँ र नातीलाई घरमा सुताएर आफू अर्को घरमा सुतेकाले मनमाया भने बाँच्न सफल भएकी छिन्।

मंगलबार बिहान करिब ४ बजेतिर माथिबाट खसेको पहिरोले घर पुरिएको हो।

इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक बासुदेव थापाको नेतृत्वमा गएको प्रहरी टोलीले पहिरो पन्छाएर मृतकको शव बाहिर निकालेको थियो।