पोखरा–बागलुङ सडकखण्ड एकतर्फी सुचारु

साउन ३,पर्वत – मोदीखोलामा आएको बाढीको कटानका कारण अवरुद्ध बनेको पोखरा बागलुङ राजमार्ग एकतर्फी रुपमा सुचारु भएको छ।

पर्वतको कुश्मा नगरपालिका–१२ स्थित पराधिमा मोदीखोलाको कटानका कारण सडक भत्किएको थियो। सुरक्षा निकाय र डोजर लगाएर रातभरि गरिएको प्रयासपछि सोमबार बिहान ४ बजेबाट सडक एकतर्फीरुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ। सडक आइतबार साँझ ७ बजेदेखि अवरुद्ध भएको थियो।

मोदी खोलामा आएको बाढीको उच्च बहावले पक्की सडकनै भत्काएर लगेपछि भित्तातर्फको पहाड काटेर एकतर्फी रुपमा सडक सुचारु गरिएको प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।

सडक सुचारु भएसँगै रातिदेखि अलपत्र बनेका छोटो दूरीका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । धौलागिरि अञ्चलका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई जोड्ने एकमात्र सडक अवरुद्ध हुँदा सिङ्गो धौलागिरि अञ्चल प्रभावित हुने गर्दछ। उक्त सडकबाट दैनिक एक हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्दै आएका छन्।

लगातारको वर्षाका कारण जमिन कमजोर हुँदा पोखरा–बागलुङ सडक र मालढुङ्गा–बेनी सडक पटकपटक अवरुद्ध हुँदै आएको छ। पर्वतका ग्रामीण सडक पनि विगत एक महिनादेखि ठप्प बनेका छन्। रासस