राष्ट्रपति र सभामुखलाई उस्काउँदै शीर्ष दल

साउन ३,काठमाडौं – नेपालका दुई ठूला पदमा रहेका राष्ट्रपति र व्यवस्थापिका संसदका सभामुखलाई विभिन्न राजनीतिक दलहरुले आआफ्नो स्वार्थमा प्रयोग गर्न उक्साउन थालेका छन्।

१० महिनाअघि जारी भएको संविधानको भावनाबमोजिम कार्य गर्न हौस्याउनु पर्नेमा केही राजनीतिक दलहरुले राष्ट्रपति र सभामुखलाई आफ्नो स्वार्थमा कार्य गर्न उक्साउन थालेको पाइएको हो।

नेकपा एमालेले अप्रत्यक्षरुपमा राष्ट्रपति आफ्नो मान्छे भएको भन्दै संविधानमा नयाँ सरकार बन्ने कुनै पनि व्यवस्था छैन भनिरहेको छ भने नेकपा माओवादी केन्द्रले सभामुखले आफ्नो कुरालाई स्वीकार गर्ने आंकलन गरी अविश्वासको प्रस्ताव बाहेक अन्य विषयमा व्यवस्थापिका संसद चल्न नदिने रणनीतिमा लागेको पाइन्छ।

एमाले समर्थितहरुले संविधानको धारा टेकर राष्ट्रपतिले नयाँ सरकार गठन गर्नका लागि आह्वान गर्ने भनी आवाज निकालिरहेका छन्।

लामो समयदेखि त्रिभुवनविश्वविद्यालय अन्तर्गतका कलेहरुमा संविधानको प्राध्यापन गरिरहेका संविधानविद मुनेन्द्रप्रसाद अवस्थीले संविधानमा राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नका लागि भनी स्पष्ट व्यवस्था नगरिए पनि संसदीय अवस्थाको त्यसको जिम्मेवारी राष्ट्रप्रमुखको नै हुने स्पष्ट पारे।