मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

साउन १,चितवन – चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अबरुद्ध भएको छ। दारेचोक गाविस–४ मुग्लिन बजार नजिकै पहिरो खसेपछि शनिवार बिहान साढे ५ बजेबाट सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मुग्लिन बजारबाट ४०० मिटर नारायणगढतर्फ पहिरो खसेको हो। सडक विस्तारका क्रममा काटिएको भित्तो माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो।

सडक खुलाउने कार्य सुरु भइसकेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएसँगै मुग्लिनतर्फ जाने आउने सवारी लाम लागेको छ।