हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

साउन १,चितवन – दक्षिण चितवनको माडीमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ।

घरमै सुतिरहेकी वृद्धाको चितवन राष्ट्रिय निकुञ्जबाट बस्ती छिरेको हात्तीले आक्रमण गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

गएराति करिब साढे १ बजेतिर माडी नगरपालिका–८ हरिनगरमा उक्त घटना भएको हो। हात्तीको आक्रमणबाट स्थानीय कनुवा पावेकी श्रीमती ७५ वर्षीया जल्पु पावेको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको शवलाई अहिले स्थानीय माडी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। हात्तीले आक्रमण गर्दा उनको घर समेत क्षति पुगेको जनाइएको छ।

माडी क्षेत्र चितवन निकुञ्जले घेरेको उपत्यका रहेकाले यहाँ जङ्गली जनावरको आक्रमणमा बर्सेनि जनधनको क्षति हुँदै आएको छ।