प्रधानन्यायाधीशमा सुशीला कार्कीले सपथ खाइन्

असार २७,काठमाडौं – नेपालको न्यायिक इतिहासमा सर्वोच्च अदालतले पहिलो पटक महिला प्रधानन्यायाधीश पाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सुशिला कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्को सिफारिसलाई संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गरेकी हुन्।
कार्कीको नियुक्तिसँगै राष्ट्रपति तथा व्यवस्थापिका र न्यायपालिकाका प्रमुख पद् महिलाले ओगटेका छन् । नवनियुक्त प्रधानन्यायाधीश कार्कीले सोमबार नै पद् तथा गोपनियताको सपथ खाएकी हुन्। उनलाई राष्ट्रपति भण्डारीले एक समारोहबीच पद तथा गोपनियताको सपथ खुवाएकी हुन्। नवनियुक्त प्रधानन्यायाधीश कार्कीले ६५ वर्षे उमेर हद्का कारण अबको ११ महिना मात्र सर्वोच्च अदालतको नेतृत्व गर्नेछन्। उनी २०६५ सालको माघ ९ गते अस्थायी न्यायाधीश नियुक्त भइ त्यसको २२ महिनापछि अर्थात २०६७ सालको मंसिर २ गते स्थायी न्यायाधीश नियुक्त भएकी हुन्।
यसअघिका प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उमेर हदका कारण अवकाश पाएपछि कार्कीले गत वैशाख २ गते कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी थिइन्। न्यायाधीश नियुक्त भएयता कार्कीले ८ हजार ७ सय ६४ वटा मुद्दामा फैसला गरेकी छन्।