तीन किलो यार्सासहित दुई पक्राउ

असार २७, कैलाली – अवैधरुपमा भारतबाट ल्याउँदै गरेको तीन किलो बहुमूल्य जडीबुटी यार्सागुम्बासहित दुई जनालाई प्रहरीले दार्चुलाबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशील सिंह राठौरका अनुसार पक्राउपर्नेमा दार्चुला हिकिला–२ घर भई हाल अपि नगरपालिका–११ बागाबगर बस्ने ३० वर्षीय नन्दनसिंह बडाल र दार्चुला जिल्ला धारी–३ घर भई हाल अपि नपा–११ बस्ने ३५ वर्षीय नरेन्द्रसिंह धामी रहेका छन्।
उनीहरुलाई प्रहरीले हुती–६ महाकाली किनारबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई प्रहरीले आइतबार बेलुका पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। उनीहरुले बहुमूल्य जडीबुटी यार्सागुम्बा भारतको जुमा भन्ने ठाउँबाट लिएर आएको बताएका छन्।
पक्राउ परेका दुवै जनालाई प्रहरीले आजै अपि नाम्पा संरक्षण कार्यालय, दार्चुलाको जिम्मा लगाएको छ। बरामद गरिएको तीन किलो यार्सागुम्बाको स्थानीय मूल्य ३० लाख रूपैयाँ पर्ने गर्दछ ।