आयोजकलाई हराउँदै युरोकपको उपाधि पोर्चुगललाई

असार २७, एजेन्सी – अतिरिक्त समयमा एइडरले गोल गरेपछि आयोजक फ्रान्सलाई हराउँदै पोर्चुगलले पहिलो पटक युरोकप फुटबलको उपाधि जितेको छ ।

सोमबार बिहान भएको फाइनलमा पोर्चुगलले आफ्ना स्टार कप्तान क्रिष्टियानो रोनाल्डोलाई २५ औं मिनेटमा नै चोटका कारण गुमाएको थियो।

तर, एइडरको गोलको मद्दतमा घरेलु टोलीलाई १-० गोल अन्तरले पराजित गर्दै पोर्चुगल युरोपियन महादेश च्याम्पियन बनेको हो। उसका जितमा १०९ औं मिनेटमा एइडरले निकै लोभलाग्दो गोल गरेका थिए।
खेलमा फ्रान्सले खेलमा केही सुन्दर मौका खेल फालेको थियो । उसका स्टारम्यान एन्टोनी ग्रिजम्यानको दुई प्रहारलाई पोर्चुगलका गोलकिपरले रोके भने गेनियाकको प्रहार पोष्टमा लागेको थियो ।
समूह चरणमा एउटा पनि खेल नजिति तेस्रो स्थानमा रहेको उत्कृष्ट टिमका रुपमा नकआउट चरणमा पुगेको २००४ को उपविजेता पोर्चुगलले नभन्दै उपाधिमाथि कब्जा जमाएको हो।