संघीयता कार्यान्वयनमा सचिवहरू नै उदासीन

असार २७,काठमाडौं – संघीयता कार्यान्वयनमा बहालवाला सचिवहरू नै गैरजिम्मेवार र उदासिन देखिएको भन्दै पूर्वप्रशासकहरूले उनीहरूको कटु आलोचना गरेका छन्।

धुलिखेलमा २४ र २५ असारमा सामान्य प्रशासन मन्त्रालयले गरेको संघीयता कार्यान्वयन र प्रशासनिक व्यवस्थापन विषयक बृहत गोष्ठीमा पूर्वमुख्यसचिवलगायतका प्रशासकले बहालवाला प्रशासकको आलोचना गरेका हुन्।

उनीहरूले बहालवाला सचिवहरूको कार्यशैलीले संघीयता कार्यान्वयनमा नै गम्भीर समस्या पर्नसक्ने चेतावनीसमेत दिएका छन्। कार्यक्रममा सहभागी सचिवहरूले पनि आफुहरू संघीयताको विषयमा कन्फ्जयुनमा परेको भन्दै संघीयता कार्यान्वनमा अग्रसर हुन नसकेको स्वीकार गरेका थिए।

पूर्वमुख्यसचिव लीलामणि पौडेलले हालको काम गराईबाट संघीयता कार्यान्वयन हुनै नसक्ने दावी गरे। उनले संघीयतामा कर्मचारी व्यवस्थापनका लागि कडा कानुन ल्याउनुपर्ने बताए। हाल केन्द्रमा रहेका कर्मचारीलाई प्रान्त र स्थानीयस्तरमा खटाउन ढिला गर्न नहुने उनको भनाइ थियो। पूर्वमुख्यसचिव एवम् पूर्वमन्त्री माधवप्रसाद घिमिरेले कतिपय निकायमा अनावश्यक रुपमा दरबन्दी थप गर्ने काम भइरहेको भन्दै त्यसले संघीयता कार्यान्वयनलाई जटिल बनाउन सक्ने चेतावनी दिए।

कार्यक्रममा टिप्पणीकार बनेका पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले संघीयताका विषयमा २५ प्रतिशत मात्रै काम गरेका मन्त्रालयका कति जना सचिव हुनुहुन्छ भन्दै हात उठाउन आग्रह गर्दा करिब ५० सचिवमध्ये ४ जनाले मात्रै हात उठाएका थिए।