हरेक वर्ष सरकार फेरिनु नेपालका लागि राम्रो नहुने

नुवाकोट, २० असार – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले ठूलो पार्टी भएको नाताले काँग्रेसले सरकारको नेतृत्वको दाबी गर्नु स्वाभाविक भए पनि सरकार हरेक वर्ष फेरिनु नेपालका लागि राम्रो नहुने बताउनुभएको छ ।
क्षेत्र नं २ को इलाका प्रशासन कार्यालयको आज उद्घाटन गर्दै नेता डा महतले भन्नुभयो,“लोकतन्त्र आएको नौ वर्षमा आठ वटा सरकार परिवर्तन भएको छ, सरकारको स्थिरता नहुँदा विकास निर्माण प्रभावित भएको छ, अहिले काँग्रेस सरकार परिवर्तनको पक्षमा छैन । ”
वर्तमान सरकारले भूकम्पपीडितलाई आवास अनुदान दिन ढिलाइ गरिरहेको जनाउँदै पूर्वअर्थमन्त्री डा महतले आफू अर्थमन्त्री हँुदा भूकम्पपछिको पुनःनिर्माणका लागि भनेर रु ९१ अर्ब विनियोजन गरेकामा व्यक्तिगत घर निर्माणका लागि रु ५० अर्ब छुट्याएको तर अहिलेको सरकारले २५ करोड मात्र खर्च गरेको उल्लेख गर्नुभयो । उहाँले सरकारले काँग्रेस नेतृत्वको सरकारले छुट्याएको बजेट समेत खर्च गर्न नसकेको र भूकम्पपीडितलाई अनुदान दिन नसकेको भनी दोषारोपण गर्नुुभयो ।
कार्यक्रममा काँग्रेसका जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले ओली सरकारले अहिलेको आधारभूत आवश्यकताको विकास गर्न ध्यान दिई जहाज र रेलको कुरा गर्दै विकासको मजाक उडाएको आरोप लगाउनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का सचिवालय सदस्य हितबहादुर तामाङले सरकारले भूकम्पपीडितलाई तत्काल अनुदान उपलब्ध गराउनुपर्नेमा जोड दिँदै उहाँले सातबिसेमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि जिल्लामा रहेका अन्य सरकारी कार्यालय पनि बिस्तारै स्थापना गरी सेवा प्रवाह गराउन आग्रह गर्नुभयो । प्रजिअ विष्णुप्रसाद पोखरेलले इलाका प्रशासन कार्यालय स्थापनाबाट क्षेत्र नं २ का दुर्गम गाविसमा नागरिकलाई सेवा प्राप्तिमा सहज भएको बताउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष हिरानाथ खतिवडा, काँग्रेसका सचिव सुरेन्द्र अधिकारी, नेकपा (एमाले)का क्षेत्रीय अध्यक्ष गोकर्णराज पाठक, नेकपा (माले)का पल्लवराज पाठक, राप्रपा नेपालका रामशरण उप्रेती, स्थानीय विकास अधिकारी केशरबहादुर पण्डित, इलाका प्रशासन कार्यालयका कामु अधिकृत रामहरि गजुरेल लगायतले मन्तव्य राख्नुभएको थियो ।

सरकारले गत वर्ष कात्तिक १७ गते भएको सर्वदलीय बैठकको निर्णयानुसार इलाका प्रशासन कार्यालय स्थापना गरेको हो । सो कार्यालयबाट क्षेत्र नं २ का घ्याङ्फेदी, राउतबँेसी, गाउँखर्क, शिखरबँेसी, बेतिनी, समुद्रटार, बालकुमारी, थप्रेक, पञ्चकन्या, खरानीटार, सुन्दरादेवी, रालुकादेवी र उर्लेनी गाविसका नागरिकलाई सेवा प्रवाह गरिने छ । कार्यालयले अहिले नागरिकता र त्यसको प्रतिलिपि तथा नाबालक परिचयपत्र जारी गर्ने लगायत सेवा उपलब्ध गराउनेछ ।