कांग्रेस चाहन्छ बहुमतीय सरकार

असार १९ , काठमाडौं – माओवादी केन्द्रले फेरि सहमतीय सरकारका लागि प्रयास अघि बढाइरहेका बेला सबभन्दा ठूलो पार्टी कांग्रेस भने सैद्धान्तिक रूपमै त्यसको विपक्षमा देखिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीभित्रका धेरै सवालमा मतान्तर रहँदारहँदै पनि सरकारका विषयमा भने समान दृष्टिकोण छ, कांग्रेस र एमालेमध्ये एउटा प्रतिपक्षमा बस्नुपर्छ ।

कांग्रेस सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई असार ७ को भेटमा सहमतीय सरकार बन्न नसक्ने प्रस्ट जवाफ दिइसकेको स्रोतको दाबी छ । कांग्रेसले समर्थन दिए आफ्नो नेतृत्वमा सहमतीय सरकार बन्न सक्ने दाहालको भनाइप्रति देउवाको जवाफ थियो, ‘त्यसो भए सरकारको कुरै नगर्नुहोस्, एमालेको समर्थनमा तपार्इं प्रधानमन्त्री बन्ने हो भने कांग्रेस प्रतिपक्षमै बस्छ ।’
देउवासँगको भेटपछि पनि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायत केहीले कांग्रेस सहमतीय सरकारकै लागि सकारात्मक रहेको टिप्पणी गर्दै आएका छन् । कांग्रेस नेताहरू माओवादी केन्द्रले जनताका लागि देखाउन यसो भने पनि ऊ एमालेलाई प्रतिपक्षमा राख्ने योजनाका साथ अघि बढेको दाबी गर्छन् । संविधान जारी गर्दा सहकार्य गरेका प्रमुख दलहरू संविधानको कार्यान्वयनको चरणसम्म मिलेर सरकार बनाउनुपर्ने तर्कसँग पनि कांग्रेस नेताहरू असहमत छन् ।
‘दुई ठूला दल कांग्रेस र एमाले संविधान कार्यान्वयनका विषयमा पछि हट्न सक्ने अवस्था छैन, चाहे सत्तामा होस् या प्रतिपक्षमा,’ कांग्रेसका एक नेताले भने, ‘संविधान कार्यान्वयनको मुख्य समस्या भनेकै मधेसी र थारूको मागसँग छ । यो माग सम्बोधन हुनासाथ नै संविधान कार्यान्वयनको प्रक्रिया सहज ढंगले अघि बढ्छ ।’
कांग्रेस नेता प्रकाशशरण महतले आधार बिनाको सहमतीय सरकार जनतालाई देखाउने विषय मात्रै भएको बताए । ‘कसको नेतृत्वमा सहमति गर्ने आधार खै रु’ उनले भने, ‘प्रधानमन्त्री केपी ओली यही सरकारलाई राष्ट्रिय स्वरूप दिने बताउँदै आएका छन् । माओवादी आफ्नै नेतृत्वमा सहमतिको सरकारको चर्चा गर्छ । यस्तो द्विविधा र भ्रममा हामी पर्न चाहन्नौं ।’