आकासियो तरकारीको भाउ, एक सातामै दोब्बर

असार १९ , काठमाडौं – उपत्यकामा तरकारीको भाउ बढेको छ। एक सातामै केही तरकारीको भाउ सतप्रतिशत वृद्धि भएको छ।
तर, सरकारले मूल्य नियन्त्रणका लागि कुनै कदम चालेको छैन। एक साताको अवधिमा सबैभन्दा धेरै हरियो खुर्सानीको मूल्यवृद्धि भएको छ। साताअघि ९११ असार० ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको हरियो खुर्सानी शनिबार १ सय ५५ रुपैयाँमा बिक्री गरियो। ४० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको तिते करेला र घिरौँला शनिबार क्रमश  ८० र ७० रुपैयाँमा बिक्री भएको थियो। सरकार, व्यवसायी र नियमनकारी निकायले बर्खामा तरकारी नष्ट हुने र अहिले भएको ढुवानी अवरोधले मूल्य बढेको बताएका छन्। तर, मूल्य नियमनका लागि कुनै पहल गरेका छैनन्।
अनुगमन र मूल्य नियमनको जिम्मेवारी लिएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागका महानिर्देशक गोकुल धितालले अहिले मूल्य बढ्ने समय भएको भन्दै नियमनको पहल नथालिएको बताए। ‘अहिले बर्खा, ढुवानीमा भएको अवरोध र बेमौसमका कारण केही तरकारीको भाउ बढ्छ,’ उनले भने, ‘यसपटक मात्रै बढेको पनि होइन, प्रत्येक वर्ष यो समयमा तरकारीको भाउ बढ्ने गरेको छ।’ बजारले मूल्य निर्धारण गर्ने भन्दै उनले नियमनको पहल नथालिएको पनि बताए।
पसल र ठेलागाढामा झन् महँगो
कालिमाटीका थोक व्यापारीले बजारभित्रकै खुद्रा व्यापारीलाई बिहानै तरकारीको भाउ निर्धारण गरी बिक्री गर्छन्। ठेलागाढा र किराना पसलले पनि थोक व्यापारीबाटै थोक मूल्यमा तरकारी लगेर उपभोक्तालाई तरकारी बेच्छन्। यसरी कालिमाटीसम्म धाएर तरकारी किनेका स्थानीय व्यापारीले ढुवानी लागतलगायत जोडेर उपभोक्तालाई झन् महँगोमा बिक्री गर्छन्।
पसल र ठेलागाढामा कालिमाटीले तोकेभन्दा प्रतिकिलो औसत पाँच रुपैयाँबढी मूल्य पर्ने समितिका एक अधिकारीले बताए। कालिमाटीसम्म पुगेर उपत्यकाका १० प्रतिशत उपभोक्ताले मात्रै तरकारी खरिद गर्ने गरेको समितिको अनुमान छ।