बाँकेमा खुला कारागार बन्दै

काठमाडौँ, १७ असार – कारागार व्यवस्था विभागले बाँकेको गहनापुरमा खुला कारागार बनाउन लागेकोे छ ।
कारागार नियमावली–२०२० को परिच्छेद २ (क)मा खुला कारागारको अवधारणालाई अगाडि सारिए पनि अहिलेसम्म बन्न सकेको थिएन । साना अपराधीलाई दिनभर काममा पठाइने र बेलुका भएपछि कारागारमा फर्काउने योजनाका साथ सो कारागार निर्माण गर्न लागेको हो ।

विभागका महानिर्देशक हिमनाथ दवाडीले खुला कारागारलाई सञ्चालन गर्न गहनापुरमा–६ बिघा जग्गा लिएर सुरक्षा भवन निर्माण भइरहेको जानकारी दिनुभयो ।

महानिर्देशक दवाडीले कस्ता कैदीबन्दीलाई खुला कारागारमा राख्ने र कस्ता रोजगार दिने भन्नेबारेमा अहिलेसम्म निर्णय भइनसकेकोे बताउनुभयो । उहाँले भन्नुभयो – “निर्देशिका बनेपछि मात्र कस्ता कैदीबन्दी राख्ने भन्ने कुरा स्पष्ट हुन्छ ।” यस्तै विभागले यही आवदेखि नुवाकोटमा केन्द्रीय तथा बाँकेमा क्षेत्रीय कारागार बनाउन लागेको छ ।
नयाँ बन्न लागेका कारागारमध्ये नुवाकोटमा सात हजार र बाँकेमा तीन हजार कैदीबन्दी राख्न मिल्ने क्षमताको क्षेत्रीय कारागार बनाउन लागिएको विभागले जनाएको छ ।