संविधानविरुद्ध बोल्ने उपप्रधानमन्त्रीमाथि कारबाहीको माग

असार १७,काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानविपरित अभिव्यक्ति दिने दुई उपप्रधानमनत्रीहरुलाई कारबाही गर्न माग गरेको छ।

बिहीबार बसेको संसदको बैठकमा कांग्रेसले संविधानविरोधी अभिव्यक्ति दिने उपप्रधानमन्त्रीलाई कारबाही नगर्नुको कारणबारे प्रधानमन्त्रीसँग जवाफ समेत मागेको छ।

उपप्रधानमन्त्रीद्वय कमल थापा र चित्रबहादुर केसीले संविधानविपरित अभिव्यक्ति दिएको भन्दै यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग कांग्रेसले गरेको हो। कांग्रेस संसदीय दलका सचेतक इश्वरी न्यौपानेले संविधानबमोजिम नै मन्त्री जस्तो जिम्मेवार पदमा बसेर संविधानको खिल्ली उडाउँदा प्रधानमन्त्री किन मौन बस्नु भएको हो भन्दै जवाफ चाहिने बताइन्।

उनले यस विषयमा रुलिङ गर्न सभामुखसँग आग्रह समेत गरिन्। उपप्रधानमन्त्री र उनका मन्त्रीहरुले राजतन्त्र आवश्यक छ, राजतन्त्र ल्याउनु पर्छ, गणतन्त्र चाहिन्न भन्दै सडक सडकमा संविधान विरोधी अभियान सञ्चालन गर्ने गरेको विषयलाई सरकारले गम्भीर रुपमा नलिएको उनको भनाई थियो।

‘उपप्रधान तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले संघीयता चाहिन्न भन्नु भएको छ। संघीय गणतन्त्र नेपालको उपप्रधानमन्त्रीले संघीयता चाहिँदैन भन्दै भाषण गर्नु संविधानविपरित हो कि होइनरु यसबारे जवाफ चाहियो,’ न्यौपानेले भनिन्।