११ लाख भारतीय रुपैयाँसहित एकजना पक्राउ

असार १६,काठमाडौं – महोत्तरीमा भारतीय रुपैयाँको अबैध कारोबारमा संलग्न एकजना पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल जलेश्वरको टोलीले चेकजाँचका क्रममा महोत्तरीको जलशागरबाट गएराति ११ लाख ७१ हजार १० रुपैयाँ भारतीय रुपैयाँसहित अबैध कारोबारमा संलग्न जलेश्वर–१२ का विमलेश पाण्डेलाई पक्राउ गरेको हो।

सीमावर्ती भारतीय मठिहानीबाट मलिबारा जाने क्रममा महोत्तरीको जलसागरमा सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्दा पक्राउ गरेको हो। पक्राउ परेका पाण्डेलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको छ।

पाण्डे भिट्टामोडमा अबैध भारतीय रुपैयाँको खरिद विक्री गर्ने काममा संलग्न हुँदै आएको खुलेको छ। पाण्डेले भारतको मठिहानीबाट भारतीय रुपैयाँ ल्याएर भिट्टामोड बजारमा अबैधरुपमा सटहीको काम गर्ने गरेको स्वीकार गरेका छन्।