दलहरु सहमति नजिक

काठमाडौँ, १४ असार – भूकम्पपीडितलाई दिने सहायता रकमको विषयमा प्रमुख दलका शीर्ष नेताहरुबीच आज भएको छलफल सहमति नजिक पुगेको छ ।
आजको बैठकमा प्रमुख प्रतिपक्षी दलले यसअघि राख्दै आएको एकमुष्ट रु दुई लाख दिनुपर्ने मागमा केही लचकता अपनाउँदै पहिलो किस्तामा रु डेढ लाख र दोस्रो किस्तामा रु ५० हजार दिएर दुई किस्तामा भूकम्पपीडितलाई राहत रकम दिनुपर्ने प्रस्ताव राखेको वार्ता कार्यदलका सदस्य एवम् राप्रपा नेपालका प्रमुख सचेतक दीलनाथ गिरीले जानकारी दिनुभयो ।

व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा प्रधानमन्त्री एवम् नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापालगायत शीर्ष नेता र कार्यदलको संयुक्त बैठक बसेको थियो ।

सचेतक गिरीका अनुसार पहिलो किस्तामा डेड लाख दिन मिल्ने वा नमिल्ने विषयमा अर्थ मन्त्रालय र पुनःनिर्माण प्राधिकरणले थप गृहकार्य गरेर भोलि थप छलफल गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो ।

विश्व बैंकसँग यसअघि काँगे्रस नेतृत्वकै सरकारले गरेको सहायता रकम वितरणबारेको सम्झौतालाई समेत मध्यनजर गर्दै टुङ्गोमा पुगिने उहाँको भनाइ छ ।

काँग्रेस नेता एवम् कार्यदलका सदस्य डा प्रकाशशरण महतले आजको बैठकमा भूकम्पपीडितलाई एकमुष्ठ रकम दिने विषयमा सत्ता साझेदार दल माओवादीसमेत सहमत भएको तर एमालेका कारण निष्कर्षमा पुग्न समस्या परेको बैठकपछि बताउनुभयो ।

काँग्रेसले एकमुष्ठ रु दुई लाख भूकम्पपीडितलाई दिनुपर्ने माग राख्दै संसद् अवरुद्ध गर्दै आएको छ ।