‘पर्यटन आर्थिक समृद्धिको आधार’

पोखरा, १४ असार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले पर्यटन नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएको बताउनुभएको छ ।

पोखरा पर्यटन परिषद्द्वारा आज यहाँ आयोजित अन्तरक्रियामा उहाँले नेपालमा आर्थिक समृद्धिको महत्वपूर्ण माध्यम पर्यटन भएका कारण यसलाई राज्यको पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

देशको पर्यटकीय क्षेत्रको विकासका लागि दसवर्षे कार्ययोजनाका साथ अघि बढ्ने तयारी भइरहेको बताउँदै उहाँले यसका लागि लगानीकर्ताको सम्मेलनको तयारी गरिएको उल्लेख गर्नुभयो ।

सो अवसरमा परिषद्का अध्यक्ष सोम थापाले पोखराको पर्यटन विकासका लागि विभिन्न कार्ययोजना समेटिएको स्मरणपत्र मन्त्री पोखरेललाई प्रदान गर्नुभएको थियो । उहाँले पोखराको पर्यटकीय विकासमा नीजि क्षेत्रबाट भइरहेको लगानी सुरक्षित गरिनुपर्ने, फेवातालसहितका पर्यटकीय पूर्वाधारको संरक्षण गर्नुपर्नेलगायतमा जोड दिनुभयो ।

अन्तरक्रियामा नेकपा (एमाले) कास्कीका अध्यक्ष कृष्ण थापा, नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठी, अग्नि कँडेल र टीकाराम सापकोटा, परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराई, महासचिव रामु गौतम, ट्रेकिङ एजेन्सिज एसोशिएसन नेपाल पश्चिमाञ्चल अध्यक्ष रामचन्द्र शर्मा, जीवनराज सापकोटा, सोवित बानियाँ, सूर्यबहादुर भुजेललगायतले पर्यटकीय पूर्वाधारको विकासका माध्यमबाट पर्यटकको बसाइँ लम्ब्याउनुपर्नेमा जोड दिनुभयो ।