युद्ध होइन हामीले गर्ने क्रान्ति हो : नेत्रविक्रम चन्द “विप्लव”

के गर्छन् अब विप्लव ? अहिले सहरमा सर्वाधिक सोधिने प्रश्न यही हो । १० वर्षे जनयुद्धमा होमिएका विप्लव १० वर्षे शान्ति–प्रक्रियाबाट सबैभन्दा असन्तुष्ट छन् । असन्तुष्टहरूलाई संगठित गरेर उनले फेरि अर्को हिंसात्मक आन्दोलन सुरु गर्दै छन् भन्ने अनुमान गर्न थालिएको छ । मोबाइल टावर र गैरसरकारी संस्थामा भएको आक्रमणको जिम्मा लिएर उनको पार्टीले हिंसामा जाने संकेत पनि गरेको छ । के देश फेरि अर्को युद्धमा होमिन थालेको हो ? के राजनीतिक र समाजिक मुद्दामा शान्तिपूर्ण बहस र निकासको गुञ्जायस अब छैन ? जनमानसमा उठेको यही प्रश्न नयाँ पत्रिकाले विप्लवसँग राखेको छ । कृष्णज्वाला देवकोटा, झलक सुवेदी र उमेश चौहानका प्रश्नमा नेकपा माओवादीका महासचिव विप्लव यसरी प्रस्तुत भए:

व्यक्तिगत कुरा गर्दा, तपार्इं एकदम सभ्रान्त वा एकदम विपन्नवर्गबाट आउनुभएको होइन, तैपनि राजनीतिक र सामाजिक परिवर्तनका लागि भनेर तपाईं पटक–पटक हिंसाको एजेन्डा उठाउनुहुन्छ । हिंसासँग तपाईंको यो लगाव वास्तवमा रहर हो कि बाध्यता ?
हिंसा होइन, क्रान्तितिरको लगाव हो यो । ३० वर्षअघि रोल्पा, रुकुमतिरको अवस्था अहिलेजस्तो पनि थिएन । तपाईंले भनेजस्तो बौद्धिक वा उच्चवर्गबाट पनि म आएको होइन । तर, म जे सोच्छु, त्यसको मुख्य प्रभाव भनेको समाजकै हो । हाम्रो जीवन कस्तो थियो, त्यसको छाप हामीसँग अवस्य हुन्छ । मेरै समाजका त्यस्ता घटना थुप्रै छन्, जसले मलाई क्रान्तिका लागि तयार पारे । सबैभन्दा बढी मलाई प्रभावित पारेको नेपाली प्रवासिने अवस्थाले हो । पश्चिमतिर अक्सर मान्छे १५, १६ वर्षको उमेरपछि नेपालमा बस्दैनन् । त्यतिवेला उनीहरू भारततिर जान्थे, गएकामध्ये पनि ५० प्रतिशत मात्रै फर्कन्थे, अरू उतै बेपत्ता हुने र सिद्धिने गरेका थिए । त्यसरी जानेमा मसँगैका साथी पनि हुन्थे । स्वाभाविक रूपमा त्यस्तो मनोविज्ञान मसँग छ । अर्काेतर्फ, समाजमा समृद्धि छैन, जताततै विभेद छ । गाउँ–समाजमा हुनेखानेले गरेको उत्पीडनको प्रभाव पनि ममा गढेको छ । उत्पीडित वर्गका मान्छेलाई मान्छे नगन्ने भएपछि त्यसको प्रभाव पनि पर्ने नै भयो । त्यस्तै मलाई सबैभन्दा बढी प्रभाव पारेको र उत्प्रेरित गरेको वैज्ञानिक समाजवादको आदर्शले हो । वर्गविहीन समाज, मुक्त समाजको परिकल्पनाले प्रभाव पारेको हो । विद्यार्थी जीवनदेखि नै त्यसले प्रभावित पार्‍यो । त्यसैलाई नेपाली समाजसँग जोडेर हेर्दा नेपाली समाजमा विभेद छ, पछौटेपन छ । यसको चरित्र बदल्नुपर्ने सोचले प्रभाव पार्‍यो । त्यसमा परिवर्तन ल्याउन सकिएको छैन, त्यसैले थप भूमिकाका लागि अग्रसर बनाइरहेको छ । मेरो मान्यता के छ भने वैज्ञानिक समाजवाद काल्पनिक होइन, वैज्ञानिक हो । यसका पनि कैयाँै त्रुटि होलान्, तर आजको दुनियाँमा यो सम्भव छ । म त्यो आत्मविश्वासमा अहिले पनि दृढ छु ।

आफ्नो आदर्शका लागि तपाईंहरू लड्नुभयो, लडाइँ एउटा बिन्दुमा पुगेपछि सम्झौता पनि भयो, तर शान्ति–प्रक्रिया सुरु भएको १० वर्षपछि आएर फेरि विद्रोहको तयारी कति स्वाभाविक छ ?
हामी जुन आदर्श, लक्ष्य र उद्देश्य बोकेर जनयुद्धमा हामफालेका थियौँ, त्यो सही थियो । त्यसभित्र सामाजिक रूपान्तरण, सांस्कृतिक रूपान्तरण र देश बदल्ने सपना थियो । त्यसलाई जनताले अनुमोदन पनि गरेका थिए । तर, त्यो अहिले हाम्रो हातबाट गुमेको छ । यसो हुनुमा जनता, कार्यकर्ताको होइन, लिडरसिपको त्रुटि छ । त्यो समस्याको हल नहुँदासम्म नेतृत्वले धोका दिनु हुँदैनथ्यो । लिडरसिप घेराबन्दीमै परेर त्यहाँ पुगेको जस्तो पनि हामी देख्छौंँ । कांग्रेस, एमालेले पनि इमानदारीपूर्वक काम नगरेको हामी देख्छौंँ । उहाँहरू आफँैले दिएको वचनमा टिक्न सक्नुभएन । हिजो रोल्पामा भएको सहमति काठमाडौंै आएलगत्तै अर्काे व्याख्या गर्नुभयो ।

रोल्पामा को–कोबीच के सहमति भएको थियो ?
रोल्पामा गिरिजाप्रसाद कोइरालाको चिठी लिएर जाने साथीहरू हुनुहुन्थ्यो । चिठी कसले लिएर गएका थिए भन्ने समय आएपछि भनौँला । एमालेका तर्फबाट त वामदेवजी आफैँ जानुभएको थियो । म त्यहीँ थिएँ । हाम्रा त्यतिखेरका अध्यक्ष प्रचण्ड र गिरिजाप्रसादबीच सीधै फोन संवाद भएको थियो । एमालेसँग पाँचबुँदे सहमति रोल्पामै भएको थियो । त्यसमा एमालेका तर्फबाट मात्र नभई कांग्रेसको पनि सहमति थियो भन्ने एमाले नेताको भनाइ थियो । वामपार्टीका तर्फबाट प्रतिनिधित्व गर्दै नारायणकाजी श्रेष्ठ प्रकाशजी दुई–तीनपटक नै रोल्पा पुग्नुभएको थियो । त्यतिखेरको त्यहाँको मूल स्पिरिट भनेको माओवादीले जनयुद्धमा उठाएका खासगरी नेपाली जनताका प्रस्ताव, किसान, मजदुर, युवा, महिला, राष्ट्रिय स्वाधीनताजस्ता विषयलाई कुनै न कुनै रूपमा सम्बोधन गरेर जाने भन्ने थियो । तर, काठमाडौँं आएपछि त्यसको उल्टो व्याख्या भयो ।

हुनुपथ्र्याे के ? किसान, मजदुर, युवा, महिला, राष्ट्रिय स्वाधीनताजस्ता विषयमा तपार्इंहरूको बुझाइ के थियो ?
राजनीतिक रूपमा हेर्दा राज्य सामन्ती खालको छ, दलाल चरित्रको छ । यो संरचनालाई आमूल परिवर्तन गर्नुपर्छ । तर, यो त न्यूनतम पुँजीवादी चरित्रको पनि छैन भन्ने हाम्रो भनाइ थियो । त्यसकारण हाम्रो बुझाइ भनेको राज्यको लिडरसिप र संरचनामा हेरफेर हुनुपर्छ भन्ने थियो । वैज्ञानिक समाजवादको अवधारणा बोकेको लिडरसिपको नेतृत्वमा सत्ता रहनुपर्छ भन्ने हाम्रो विचार थियो । तर, राज्य पुनर्संरचनाको बहसको मूर्त व्याख्या भएन । यहाँ त एकलौटी जनयुद्धका सत्ताहरू सिध्याउनेतिर काम भयो । तर, गाउँदेखि ठूला सहरमा समेत परास्त भइसकेको पुरानो सत्तालाई फेरि फर्काउने काम भयो । सबैभन्दा ठूलो असहमति हाम्रो यही हो । संसारभरको मान्यता पनि के हो भने जितेको ठाउँमा जित हुने भइहाल्यो, सम्झौतामा आएका ठाउँमा पनि पावर सेयरिङ हुनुपथ्र्यो । जनयुद्धले नेताहरूको सुविधाको पावर सेयरिङ मागेको होइन, मन्त्रीको पदको पनि होइन । राज्यसत्ताको संरचनामा हुनुपथ्र्यो ।

तपाईंले सेना, अदालतलगायत त्यसपछिका राज्यका अरू अंगमा साझेदारी भन्न खोज्नुभएको हो ?
हो । हामीले खासगरी चार ओटा क्षेत्रमा त्यस्तो मुद्दा उठाएका थियौँ । राजनीतिक, आर्थिक, सेना, पुलिससहित सुरक्षा र अदालतसहितको कानुनी क्षेत्रमा हामीले सत्ता साक्षेदारीको विषय उठाएका हौँं । राजनीतिक कुरा गर्दा गाविसदेखि केन्द्रसम्म माओवादीको प्रस्टै देखिने सहभागिता चाहिन्थ्यो । हामीले जनताको, कार्यकर्ताको सेवा गर्न कसरी खोजेका हौँ भन्ने हामीलाई देखाउन दिनुपथ्र्याे । एउटा नेतालाई ढाकेर मात्रै हुने होइन भन्ने हाम्रो भनाइ थियो ।
माथिदेखि तलसम्म एउटा सेटमा काम गर्न माओवादीले पाउनुपर्छ भन्ने थियो । तर, त्यसो हुन पाएन । प्रचण्ड कमरेडले यहाँ ठूलो कमजोरी गर्नुभयो । उहाँहरू एकदम हावामा उड्नुभयो भन्ने बुझाइ छ मेरो । कहाँ बतासिनुभयो, त्यो भनिरहन जरुरी छैन । तर, त्यसको फाइदा कांग्रेस, एमालेका साथीले उठाए । उनीहरूले हामीलाई सत्ताबाट पूरै लखेटे । गाविसदेखि साझेदारी हुनुपर्ने थियो । दुईवटा सचिव हुँदैमा के जान्थ्यो ? माओवादीको पनि सचिव चाहियो नि ? गाविसमा उसले राम्रो काम गरेन भने हामी कारबाही गथ्र्यौं । त्यस्तै, सिडिओ, एलडिओ नै रहनुपर्ने किन ? त्यसलाई नयाँ प्रशासनिक ढाँचामा ढाल्नुपथ्र्यो भन्ने हाम्रो भनाइ थियो । कहीँ केही भएन, मन्त्रालयमा आउँदा त हुँदै भएन । साउथ अफ्रिकामा काला र गोराबीचको लडाइँ टुंगिँदा बराबरी पावर सेयरिङ भयो । अहिले त्यहाँ विद्रोहबाट आएका दुईजना कमान्डर प्रधानसेनापति भइसक्नुभयो । तर, यहाँ माओवादीलाई कहीँ पनि छिर्न नदिने, अनि शान्ति–प्रक्रियाचाहिँ सफल हुनुपर्छ भन्न खोजियो ।

तपाईंहरूले गरेको जनयुद्ध जित वा हारमा पुगेको होइन, सम्झौतामा टुंगिएको हो । तपार्इंले अहिले भनिरहेको क्रान्तिले आकार लियो भने पनि निर्णायक जितमा पुग्ने होइन, निश्चित शक्ति हासिल गर्ने र फेरि सम्झौतामा आउने हो भन्ने मान्छेहरूको बुझाइ छ । तपाईंको भनाइ के छ ?
त्यस्तो आरोप बनाइएको हो, बनेको होइन । जानीबुझी साथीहरूले बनाइदिएका हुन् । पहिला उहाँहरूले हामीलाई यो केही पनि होइन, महत्त्वाकांक्षाले चालेको स्टेप मात्र हो, यो पार्टी बन्दा पनि बन्दैन, केही पनि रहँदैन भन्नुहुन्थ्यो । तर, जतिवेला ०६४ मा प्रचण्ड र बाबुरामले राजनीतिक शब्दावलीको प्रयोग पार्टीमा ल्याउन थाल्नुभयो, त्यस्तो गर्नुहुँदैन, यसले पार्टी पनि बन्दैन र तपाईंहरू पनि विसर्जनतिर जानुहुन्छ, यो आत्मसमर्पणको बाटो हो भनेर हामीले भनेका थियौंँ ।

तपाईंले भनेको राजनीतिक शब्दावली के हो ?
उहाँहरूले संसदीय व्यवस्थालाई मान्ने बाटो अवलम्बन गर्न थाल्नुभयो । लोकतान्त्रिक गणतन्त्र भन्न थाल्नुभयो । त्यसलाई संस्थागत गर्ने भन्न थाल्नुभयो । चुनवाङ र खरिपाटीमा प्रचण्डले प्रस्तुत गरेको डकुमेन्ट र चुनवाङवरिपरि बाबुरामले लेखेको लेख र खरिपाटीमा बाबुरामजीहरूले गरेको बहस हेर्ने हो भने ठीक उल्टो देखिन्छ । त्यतिवेला हामीले कम्युनिस्टबाट कहाँ–कहाँ गल्ती भयो ? क्राान्तिहरू जनतासँग कसरी अलग भए ? कसरी हारे ? भन्ने बहस गरेका थियौँं । तर, उहाँहरूले सबै मान्यता भत्काउनुभयो । सबै हारालुछका रूपमा चल्न थाल्यो । सुविधाका निम्ति दौडादौड तुरुन्तै चल्न थाल्यो । माओवादी यस्तो घृणित खेलमा फस्नु सुहाउँदैनथ्यो । जीवन व्यवहारमा उहाँहरूले राजनीतीकरण थाल्नुभयो । हामीले त्यसलाई मानेनौँं । जनयुद्ध सुरुवात गर्दा जे भनेर जनतालाई लडाइयो, चुनवाङमा जे भनेर शान्ति–प्रक्रियामा आइयो, अनि ०६५ हामीले जे भन्न थाल्यौँं, त्यो ठीक उल्टो छ । एमालेले ०४७/४८ मा भनेको भन्दा पनि उल्टो छ । अझ तल छ । प्रचण्ड, बाबुरामजीहरूले त बुझेरै जनयुद्ध सुरुवात गर्नुभएको छ भन्ने लाग्थ्यो । तर, उहाँहरूमा पनि विचलन आउन थाल्यो । त्यसलाई उहाँहरूले पद प्रतिष्ठा नपाएर हामीले विरोध गरेको भनिदिनुभयो । अझ पछि त मैले पालुङटारमा सत्ता साझेदारीका विषयमा राखेको विषयलाई समेत अपव्याख्या गर्ने काम भयो । त्यसपछि प्रचण्ड कमरेडलाई हामीले भनेका थियौंँ, यो गलत भयो । त्यसैले फेरि क्रान्तिलाई पुनर्संगठित गर्ने चुनौती हामीसामु आएको छ ।
अहिले तपाईं कुन मनोविज्ञानमा हुनुहुन्छ भन्ने सबैलाई चासो छ, मान्छेको बुझाइ के छ भने तपाईं

फेरि हतियार उठाउँदै हुनुहुन्छ, त्यसअघि राज्यसँग वार्ता गर्ने वा समाधानको बाटो खोज्ने काम हुन सक्छ कि सक्दैन ?
निश्चय नै सक्छ । हामीले आफ्ना विषयलाई व्यवस्थित ढंगले अगाडि सारेका छौंँ । संविधान सही ढंगले बनेन । राज्यमा पुनर्संरचना नभएसम्म अथवा राज्यमा माओवादीको सहभागिता नभएसम्म संविधान बन्दैन, बने पनि सफल हुँदैन, हामीले भनेका थियौँं । उहाँहरूलाई यो केही पनि होइन भन्या जस्तो परेको थियो, अहिले पनि सायद त्यही होला । उहाँहरूले नारा पनि दिनुभयो, आर्थिक समृद्धि हुन्छ आदि इत्यादि । तर, संविधान नबन्दै देश एकप्रकारले ठूलो घोषित त होइन, अघोषित द्वन्द्वमा देश पुगेको छ । त्यसैले राज्यसत्तामा बसेकाहरूले हाम्रा कुरा सुन्न तयार हुनुपर्छ । हामीले भनकै छौँ, तपाईंहरूले संविधान जारी गर्नुभयो भने जनताको पक्षबाट हामी पनि अर्काे संविधान जारी गर्छौ, एउटा खाका भए पनि घोषणा गर्छौं भनेका थियौँ, त्यो हामीले गर्‍यौँ पनि । हामी अर्काे सत्ता बनाउँछौँ भनेका थियौँ । प्रारुपमै भए पनि हामी हाम्रै सापेक्षतामा त्यस्तो सत्ता बनाउँदै अगाडि बढेका छौंँ ।

त्यसो हो भने हामी अहिले दुइटा सत्ताको बीचमा छौँ ?
निश्चिय नै । अहिले नेपालमा द्वैध सत्ता छ । एकातिर जनताको सत्ता छ भने अर्कातिर परम्परागत सत्ता छ ।
मोबाइल टावरमा आक्रमण गर्नुभयो, त्यसले एकदमै छिटो तपाईंहरू हिंसात्मक बाटोमा जाँदै हुनुहुन्छ भन्ने मानसिकता जनमानसमा सेट भएको छ । त्यो सही वा गलत के हो ?
एकदम गलत हो । हामीले गर्न खोजेको क्रान्ति हो, युद्ध होइन । यहाँ मान्छेले विषयलाई तोडमोड गरे । क्रान्ति नेपाली जनताको विषय हो, हाम्रो व्यक्तिगत होइन । यो नेपाली समाज र देशको विषय हो । बौद्धिक वर्गदेखि सामान्य भरियासम्म जाँदा देशको स्थितिबाट कोही सन्तुष्ट छैन । उनीहरूले समाधानको बाटो आ–आफ्नै ढंगले भन्लान् तर अहिलेको व्यवस्थाबाट कोही पनि सन्तुष्ट छैन । विदेशीले नेपालमा एउटा आकाश युद्ध चलाइरहेका छन् । यो आकाश युद्धबाट कोही पनि सन्तुष्ट छैन ।
के हो त्यो आकाश युद्ध भनेको ?
नेपाललाई थाहै छैन, शक्तिशाली राष्ट्रहरू हाम्रो आकाशमै लडेका छन्, आकाशमै हिँडेका छन् । नेपालचाहिँ तारा गनेर बसेको छ । यसरी हेर्दा कस्तो अनुभूति हुन्छ भने यसलाई परिवर्तन गर्ने क्रान्तिले मात्रै हो । मैले जोड दिएर भनिरहेको छु, जनताको क्रान्ति । त्यसलाई एकीकृत जनक्रान्ति पनि भनौँ ।

तपाईंले भन्ने एकीकृत जनक्रान्तिमा हतियारको विषय के हुन्छ ?
राज्यसत्ता नै भनिसकेपछि क्रान्तिभित्र सापेक्षित रूपमा युद्ध पनि आउला, त्यो अर्काे कुरा हो । तर, क्रान्तिकै सहयोगीको रूपमा आउने हो हतियार पनि ।

त्यो कति चरणमा कुन समयमा आउँछ ?
हामीलाई थाहा छ, युद्ध भयानक हुन्छ । युद्धलाई हामीले खेलाँची, केही मान्छेको आकांक्षा र पार्टी–विशेषको इच्छाका रूपमा मात्र बुझेका छैनौँ । यसमा राज्य नै गम्भीर हुनुपर्छ भन्ने हामीलाई लाग्छ । बाध्यकारी स्थितिमा सबैको सामना गर्नुपर्छ । राज्यशक्तिमा पुगेपछि मान्छे दृष्टिविहीन हुने गर्छ । ऊ अहंकारी, अटेर, घमन्डी, मनोगत भइहाल्छ । अहिलेको राज्य पनि त्यतै घुमिरहेको देखिन्छ । विप्लव माओवादीलाई हामी दुई घन्टामा नियन्त्रणमा ल्याउँछौँ भन्ने अहंकार पनि छ । त्यसरी सोच्दा त्यसले विषयलाई ठीक ठाउँमा लाँदैन । त्यसरी सोच्दा प्रतिरोध भई नै हाल्छ ।

राज्यले तपाईंहरूलाई नटेर्नु भनेको शक्ति कमजोर भएर हो, किन तपार्इं जनतालाई विश्वासमा लिई अर्काे पक्षलाई पराजित गरेर अगाडि बढ्ने प्रयास गर्नुहुन्न ?
हामीले अहिले जे गरिरहेका छौँ, त्यो पनि जनताकै विश्वास जितेर गरिरहेका छौँ । जनताले हिजो जुन विश्वास हामीलाई गर्नुभयो, त्यो विश्वास फेरि एकपटक हामीलाई दिनुहोस्, लडाइँमा जनताले हामीलाई जिताएका हुन्, क्रान्तिमा हामीलाई जिताएका हुन्, बरु पछि पो हामीले धोका पायौँ । सम्झौताको बाटोमा आएपछि एउटा सत्तामा बसेको मान्छेले धोका दिएको हो, अर्काे हाम्रो लिडरसिपले बाटो छाडेर धोका दिएको हो । यसमा हामी प्रस्ट छौँ ।
०५२ सालमा सुरु भएको सशस्त्र युद्ध १० वर्ष चल्यो, त्यसलाई व्यवस्थापन गर्न अर्को १० वर्ष लाग्यो । यसरी एउटा जनयुद्धका नाममा २० वर्ष गयो, एउटा पुस्ताको जीवन सकियो । अब फेरि अर्को युद्ध हुन्छ भन्ने चर्चाले पनि मान्छे त्रसित छन् । किनकि तपार्इंहरू एउटा राजनीतिक आदर्श र नेतृत्वलाई विश्वास गरेर युद्धमा जानुभयो । त्यसमा कमजोरी थिए होलान्, तर त्यसको

मूल्य पुस्तौँ–पुस्ताले चुकाइरहनुपर्ने हो ?
त्यसलाई मैले विज्ञानको नियमसँग जोडेर व्याख्या गर्ने गरेको छु । एउटा कुनै वैज्ञानिकले चन्द्रमामा पुग्ने आकांक्षा राख्छ भने प्रक्षेपण असफल पनि त हुन सक्छ । त्यसको मतलब अर्काे वैज्ञानिकले प्रक्षेपण नै नगर्ने भन्ने भौतिक विज्ञानमा सम्भव छैन । समाज विज्ञानमा हामीले गर्न खोजेको समाज परिवर्तन हो । नेता–विशेषले के गर्‍यो, पार्टी–विशेषले के गर्‍यो भन्ने सहायक हो । त्यसलाई संयोग मात्र भनिन्छ । आवश्यकता भनेको नेपाली समाजको रूपान्तरण हो । अहिले हामी भन्छौँ, मान्छे थाकेका छन्, आक्रोशित पनि छन् । नेपालको युवापुस्ता असाध्यै आक्रोशित छ । त्यो आक्रोशले ठीक ठाउँमा सही विचार र सही नेतृत्व पाउँदा समाज रूपान्तरण गर्ने बाटोमा जान्छ । युवापुस्ता निराश भयो भने देश नै कोल्याप्स हुने खतरा पनि छ । फेरि सँगै नयाँ पुस्तामा नयाँ प्रतिभा आएका छन्, उनीहरूका आक्रोश र आकांक्षालाई तपाईंले ठीक ठाउँमा राखिदिनुभयो भने अहिलेसम्म ६० वर्षको बीचमा पूरा नभएका कुरालाई गुणात्मक रूपमा पूरा गरिदिने, नयाँ कदम अगाडि आउन पनि सक्छ । हामीले आशावादी भएर हेर्ने भनेको कोही पछि हट्यो, अवरोध भयो भने त्यो व्यक्तिगत सीमाहरूका कारणले हो, ऐतिहासिक आवश्यकताले पूरा गर्ने भन्छ भने हामीले कोसिस गर्ने हो ।
त्यसो हो भने तपार्इंको नेतृत्व सही वा गलत भनेर परीक्षण गर्न देशले अर्को १० वर्ष बिताउनुपर्ने हो ?
होइन, हामीलाई मात्र क्रान्ति चाहिएर गरेको विषय होइन, तपाईंहरूलाई पनि चाहिएको छ भने गरौँ, नत्र हामीलाई मात्र मर्ने मन लागेर क्रान्तिको कुरा गरेको भन्ने नमान्नुहोला । किसान, मजदुर, बुद्धिजीवी, मध्यमवर्ग सबैलाई यही भनेका छौँ हामीले । हरेक ठाउँमा गुनासाको थुप्रो लाग्ने, असन्तुष्टि रहने, तर असन्तुष्टिको निकासमा चाहिँ पुग्न नचाहँदा देश नै नरहने खतरा छ । अहिलेसम्मको समीक्षा गरौँ, कांग्रेस, एमाले र एमाओवादी, हामी सबैका कमजोरीको समीक्षा गरौँ । यसको संश्लेषणचाहिँ सकारात्मक ढंगले गरौँ । अहिलेको आवश्यकतालाई लिएर हामीले मात्र होइन, अर्काे पार्टीले गर्छ भने त्यहाँ जानुहोस् । तर, आजको नेपालमा हामीले सारेको विषय नै ठीक छ भन्ने हामीलाई परेको छ । नयाँ पत्रिकाले छापेको छ ।

तपाईंको पार्टीमा मजदुर, किसान वा अन्य जनता किन लाग्ने ? तपार्इंसँग उहाँहरूलाई विश्वास दिलाउने आधार के छ ?
जनयुद्धमा जाँदा हामीले भनेको कुरा हो, सुकुम्बासीलाई गाँस–बासको ग्यारेन्टी गर्छौं । गरिब किसानलाई गाँस–बासको ग्यारेन्टी गर्छौं । युवालाई रोजगारीको ग्यारेन्टी हाम्रो सत्ताले गर्छ । नेपालमा दलाल पुँजीपति वर्गको दबदबा छ, त्यो दबदबाबाट हामीले राष्ट्रिय पुँजीपतिलाई मुक्त गर्छाैं । राष्ट्रिय उद्योगको संरक्षण गर्छाैं । हाम्रो देशमा विदेशीको जुन खालको हैकम छ, असमान सन्धि–सम्झौता छ, त्यसका कारण हाम्रा प्राकृतिक स्रोत–साधन कब्जामा छन्, त्यसबाट हामी मुक्त गर्छाैं । महिलाहरू अहिलेसम्म पनि नागरिकका रूपमा आउन सक्नुभएको छैन, समान विशेषाधिकारसहित हामी अगाडि बढाउँछौँ । दलितलाई मानवका रूपमा व्यवहार गरिएको छैन, तिनलाई दासताबाट मुक्त गर्नु छ । हामीले त्यो भन्यौँ, जनजाति राज्यसत्ताबाट उत्पीडनमा परेका छन्, उनीहरूलाई राज्यसत्तामा समान रूपले सहभागिता गराउँछौँ । हामीले यस्तै भनेर आएका हौँ । यो अनुमोदित भएर आएको हो । तर, यो सबैका लागि एउटा वैज्ञानिक समाजवादी राज्यसत्ता आवश्यक छ । त्योविना संसारमा संसदीय व्यवस्था सफल देखिएन । संसदीय व्यवस्थाभित्र थोरै आर्थिक विकास देखिए पनि शोषण दमन, उत्पीडन कायमै रहयो, र त्यसले अशान्तितिरै लग्यो संसदीय व्यवस्थालाई । हामीले त्यसबाट देश र जनतालाई मुक्त गर्छौं भनेका हौँ ।