नेविसङ्घ बलियो भए मात्र काँग्रेस बलीयो बन्छ

काठमाडौँ, १२ असार – नेपाली काँग्रेसका नेताले नेपाल विद्यार्थी सङ्घलाई बलियो बनाएमात्र पार्टी बलियो हुने बताएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन शङ्करदेव क्याम्पसले आज यहाँ आयोजना गरेको ‘विद्यार्थी भूमिका, संविधान कार्यान्वयन र राष्ट्रियताको सवाल’ विषयको विचार गोष्ठीमा नेका केन्द्रीय सदस्य डा रामशरण महतले भ्रातृ संस्थालाई स्वतन्त्र रुपमा नेतृत्व छान्न पाउने वातावरण मिलाएमात्र पार्टी बलियो हुने बताउनुभयो ।

उहाँले अबको राजनीति विकासमुखी हुनुपर्ने भन्दै समृद्ध र विकसित नेपालका लागि युवाले अग्रसरता लिनुपर्ने धारणा राख्नुभयो । डा महतले संविधानमा देखिएका असन्तुष्टि र मधेसवादी दलका मागलाई छलफल, वार्ताको माध्यामबाट टुङ्ग्याउनुपर्ने बताउनु भयो ।

अर्को केन्द्रीय सदस्य डा प्रकाशशरण महतले नेविसङ्घलाई चलायमान र ज्वलन्त बनाउन अधिवेशन समयमै हुनुपर्ने धारणा राख्नुभयो । उहाँले समयमै अधिवेशन भएमात्र नेविसङ्घ, नेपाली काँग्रेस र राष्ट्रियता बलियो हुने बताउनुभयो ।
अर्को केन्द्रीय सदस्य एवम् नेविसङ्घका पूर्व अध्यक्ष एनपी साउदले बढ्दो विद्यार्थी भूमिकाले पार्टी बलियो हुने र संविधान कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीलाई बलियो बनाउन नेविसङ्घको व्यवस्थापन हुनु जरुरी रहेको बताउनुभयो ।

केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले राष्ट्रियतालाई बलियो बनाउन नेपाली काँग्रेसको नेतृत्वमा जारी संविधानको कार्यान्वयन पनि काँग्रेसले नै गर्नुपर्ने बताउनुभयो ।

केन्द्रीय सदस्य लक्ष्मी परियारले मुलुकलाई लोकतान्त्रिक पद्धतिबाट अगाडि बढाउन काँग्रेसको ठूलो भूमिका रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रमका सभापति शुभराम बस्नेत, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियाँ, नेविसङ्घका नेता नैनसिंह महर, ऋषिकेशजङ्ग शाह, विष्णु पौडेललगायतले सङ्गठनमा योगदान गरेका र सङ्गठन हाँक्न सक्ने नेतृत्व नेविसङ्घमा आवश्यक रहेको बताउनुभयो ।