संसद्मा आफ्ना माग जोडदार तरिकाले उठाउने काँग्रेसको तयारी

काठमाडौँ, १२ असार – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले व्यवस्थापिका–संसद्मा आफ्ना मागलाई थप जोडदारका साथ उठाउने भएको छ ।

उक्त विषयमा छलफल गर्न काँग्रेसले सोमबार बिहान १० बजे संसदीय दलको बैठक बोलाएको छ । काँग्रेसले भूकम्पपीडितको आवास पुनःनिर्माणलगायत विषयमा सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै चार दिनदेखि संसद्को बैठक अवरुद्ध पार्दै आएको छ ।

संसद्मा आफ्ना मागलाई कसरी प्रभावकारी र व्यवस्थित ढङ्गले उठाउने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको काँग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

उहाँले माग सम्बोधनका लागि संसद्मा दबाबस्वरुप सबै सांसदलाई अनिवार्य उपस्थित गराई अनुशासित ढङ्गले विचार व्यक्त गर्ने सम्बन्धमा पनि बैठकमा नेताहरुले आवश्यक अभिमुखीकरण दिने बताउनुभयो ।

अहिलेसम्म गर्दै आएका दबाबका कार्यक्रमको समीक्षा गर्दै बैठकले आगामी कार्यक्रमसमेत तय गर्ने प्रमुख सचेतक श्रेष्ठले बताउनुभयो ।

बैठकका लागि सम्पूर्ण सांसदलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको काँग्रेस संसदीय दलका सचिव ध्रुव वाग्लेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।