एचआइभी सङ्क्रमित आठ महिलाले स्वस्थ्य शिशु जन्माए

तिलोत्तमा(रूपन्देही), ११ असार । लुम्बिनी अञ्चल अस्पतालमा बुटवलमा एचआइभी सङ्क्रमित आठ महिलाले स्वास्थ्य बच्चा जनाएका छन् ।

अञ्चल अस्पतालमा मेडिकल सुपरभाइजर विकास देवकोटाले दुई वर्षका अवधिमा नियमित औषधि सेवन गरेका गर्भवतीले एचआइभी सङ्क्रमित नभएका सात शिशु जन्माएको बताउनुभयो । उहाँले औषधि सेवन गरेको एचआइभी सङ्क्रमितबाट एन्टिरेक्टरभाइरल थेरापी(एआरटी) सेवन गरेपछि रोग सर्न सक्ने सम्भावना चार प्रतिशत हुने बताउँदै सङ्क्रमितले शिशु जन्माउन चाहेमा आमाबाट शिशुमा सर्न रोक्ने औषधि सेवन गराई सुरक्षित रुपमा अस्पतालले गर्न सक्ने जानकारी दिनुभयो ।
अस्पतालमा तालिमप्राप्त स्वास्थ्यकर्मी रहेकाले परामर्शका आधारमा यहाँबाट नियमित एचआइभी एड्सको औषधि सेवन गरेका महिलाले एचआइभी नलागेका शिशु जन्माउने गरेका हुन् ।
एएच नेपाल गैरसरकारी संस्थाले अस्पतालमा सरकारसँग सहकार्य गरी एचआइभी सङ्क्रमितलाई सेवा दिने गरेको र सो सेवा अन्तर्गत ती शिशु जन्माइएको हो । सोही कार्यक्रम अन्तर्गत अञ्चल अस्पतालमा अहिलेसम्म आठ सय ४२ जनाले औषधि सेवन गरेको तथ्याङ्क छ । त्यसमा ती सय जना बाहिर गएको र एक सय ६० जनाको मृत्यु भएको एआरटी संयोजक धर्मराज भट्टराईले बताउनुभयो ।
संस्थाले देशका पाँच स्थानमा सेवा प्रदान गर्दै आएको छ । उक्त अस्पतालमा रुपन्देही, कपिलवस्तु र पाल्पा जिल्लामा एचआइभी सङ्क्रमित समेत नियमित औषधि सेवन तथा हेरचाह गर्ने व्यवस्था मिलाइएको छ ।