संविधानभित्र सबै चिज छन्, यसैलाई कार्यान्वयन गरौँ – प्रधानमन्त्री ओली

काठमाडौँ, ९ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक विधि र प्रक्रियाबाट संविधान जारी भए जस्तै यही विधिबाट जारी संविधानको कार्यान्वयनमा लाग्न आह्वान गर्नुभएको छ ।

उहाँले भन्नुभयो – “संविधानभित्रै सबै चिजहरु छन् । यसलाई कार्यान्वयन गर्न सकिएमा सबै असन्तुष्टि सम्बोधन हुन्छन् । यसैले म संविधान कार्यान्वयनमा लाग्न सबै पक्षलाई आग्रह गर्दछु ।”

तेत्तीस दलीय राष्ट्रिय मोर्चा नेपालद्वारा सरकारसमक्ष प्रस्तुत पाँचबुँदे मागका विषयमा आज आफ्नै कार्यकक्ष सिंहदरबारमा आयोजित वार्तामा प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका लागि आवश्यक बाँकी काम पूरा गर्न सरकारले प्राथमिकता दिइआएको बताउनुभएको प्रम ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

सल्लाहकार दाहालका अनुसार संविधानप्रति सबैको स्वामित्व र अपनत्वका होस् भन्नाका लागि सरकारले असन्तुष्ट पक्षका माग सुनी वार्ता र संवादमार्फत सम्बोधन गर्न लागिरहेको प्रम ओलीले बताउनुभएको थियो ।

सरकारमा सहभागी दल र मोर्चामा आबद्ध ३३ दलका शीर्ष नेतृत्वबीच करिब एक घन्टा वार्ता भएको थियो । सो अवसरमा प्रम ओलीले तत्कालीन अवस्थामा संविधानसभाको निर्वाचन बहिष्कार गरिबसेका र संविधानसभा बाहिर रहेका दलले पनि संविधानको स्वामित्व र अपनत्व लिन सक्ने वातावरण मिलाइने जानकारी दिनुभएको थियो ।