युरोपेली युनियनमा बस्ने वा नबस्ने विषयमा बेलायतमा जनमत सङ्ग्रह सुरु

लन्डन, ९ असार । बेलायत युरोपेली युनियनको सदस्यका रुपमा बस्ने वा निस्किने भन्ने विषयमा बेलायतमा बिहीबार जनमत सङ्ग्रह सुरु भएको छ ।

बिहीबार बिहान ७ बजेदेखि नै यस विषयमा बेलायतमा जनमत सङ्ग्रहका लागि मतदान सुरु भएको लन्डनबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बिहान ७ बजेदेखि विद्यालय, पुस्तकालय, चर्च र सामुदायिक केन्द्रहरुमा जनमत सङ्ग्रहका लागि मतदानका लागि मतपेटिका राखिएको बताइएको छ ।

लन्डनबाट प्राप्त समाचारहरुमा मतदान प्रक्रिया बिहान सात बजेबाट सुरुभएको छ । यस जनमत सङ्ग्रहमा दशौँ लाख बेलायतीले मतदान गर्नेछन् ।

मतदान सकिएपछि मतगणनाको कार्य जतिसक्दो चाँडै सुरु गरिने बताइएको छ । यसका लागि ३८२ वटा मत गणना केन्द्रको स्थापना गरिने छ ।

त्यस्तै वेल्स र स्कटल्याण्ड तथा उत्तरी आयरल्याण्डमा पनि यस प्रयोजनका लागि अलग्गै स्थानमा यस्ता मतगणना केन्द्रहरु राखिने बताइएको छ ।

मतदानको काम बिहीबार बिहान ७ बजेदेखि राति १० बजेसम्म नै राखिएको छ । त्यतिन्जेल बेलायतका सबै स्थानमा मतदान भइसक्ने अधिकारीहरुले जनाएका छन् ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार बेलायतका करिब ४ करोड ६० लाख नागरिक यस मतदानका लागि योग्य रहेका छन् ।

प्ररम्भिक निर्वाचन सर्वेक्षणहरुले भने बेलायत युरोपेली युनियनमा बस्नुपर्ने भन्ने विषयको मत बढी देखिएको छ । बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुन पनि बस्नुपर्ने पक्षमा नै हुनुहुन्छ ।

उहाँले बेलायतले युरोपेली युनियनमा बस्दा नै बढी सुरक्षित हुने र आर्थिक अवस्था पनि त्यहाँ बस्दा बढी राम्रो हुने बताउनुभएको छ । उहाँले बुधबार दिनुभएको यस्तै भावुक अभिव्यक्तिमा सो धारणा राख्नुभएको छ ।