उत्कृष्ट तेस्रो हुँदै पोर्चुगल अन्तिम १६ मा

एजेन्सी – युरोकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा बराबरीमा रोकिएको पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ।
बुधबार राति लियोनमा भएको खेलमा हंगेरीसँग ३–३ गोलको बराबरी खेलेको पोर्चुगल उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा पुगेको हो।

हंगेरीसँगको खेलमा रोनाल्डोले गोलको खडेरी तोडे। पोर्चुगलका तीनै गोलमा रोनाल्डोको भूमिका महत्वपूर्ण रह्यो। दुई गोल रोनाल्डो आफैंले गरे भने एक गोलका लागि नानीलाई उत्कृष्ट पास मिलाए।
खेलको १९ औं मिनेटमा जोल्टान गाराले गोल गर्दै हंगेरीलाई सुरूवाति अग्रता दिलाएका थिए। तर, ४२ औं मिनेटमा रोनाल्डोको पासमा नानीले पोर्चुगलका लागि बराबरी गोल फर्काए। पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएपनि दोस्रो हाफको सुरूमानै हंगेरीका बेलास डज्सुडसकले गोल गर्दै फेरि अग्रता दिलाए। तर, त्यसको तीन मिनेटपछि नै रोनाल्डोले व्यक्तिगत पहिलो गोल गर्दै पोर्चुगललाई २–२ को बराबरीको अवस्थामा ल्याए।
खेलको ५५ औं मिनेटमा डज्सुडसकले व्यक्तिगत दोस्रो गोल गरेपछि हंगेरीले खेलमा फेरि अग्रता लियो। तर रोनाल्डोले यो अग्रतालाई धेरै समय टिक्न दिएनन्। अघिल्ला खेलमा गोल गर्न नसकेको भनेर ब्यापक आलोचना खेपेका रोनाल्डोले टिमलाई चाहिएका बेला महत्वपूर्ण गोल गरे र हारबाट जोगाए।
‍रोनाल्डोले ६२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ३–३ को बराबरीमा पुग्यो। त्यसपछि कुनै पनि गोल भएन र खेल बराबरीमै सकियो।
यसअघि आइसल्याण्डसँग १–१ को बराबरी तथा अस्ट्रियालाई २–० ले हराएको पोर्चुगलसँगको बराबरीपछि हंगेरी समूह विजेता बनेर सुपर १६ मा प्रवेश गरेको हो।
अब नकआउट चरणमा हंगेरीले समूह इको उपविजेता बेल्जियमसँग र पोर्चुगलले समूह डीको विजेता क्रोएसियासँग खेल्ने छ।