नेविसंघको कार्यक्रमस्थलमै हानाहान

असार ९ ,काठमाडौं – लामो समयदेखि स्थगित महाधिवेशन गर्ने तयारी सुरु भएसँगै नेपाल विद्यार्थी संघमा दुई पक्षबीच विवाद पनि बढ्न थालेको छ । बुधबार बागबजारमा भएको एक कार्यक्रममा दुई पक्षबीच हानाहान नै भएको ।
नेविसंघले नै आयोजना गरेको शिक्षासम्बन्धी अन्तक्र्रियालाई सम्बोधन गरेर प्रमुख अतिथि रहेका रामचन्द्र पौडेल फर्किएलगत्तै दुई पक्षबीच विवाद सुरु भएको थियो । विवाद बढ्दै जाँदा हानाहान भएपछि नेविसंघ केन्द्रीय सदस्य इन्दु शर्मा सामान्य घाइते भएका छन् ।
नेविंघले ११औँ राष्ट्रिय महाधिवेशनका लागि आठौँपटक प्रयास गरेको छ । तर, प्रतिनिधिहरू फर्जी भएको भन्दै एउटा समूहले विरोध जनाइरहेको छ । पूर्व प्रचार विभाग प्रमुख रामप्रसाद अधिकारीले सात–आठ सय फर्जी प्रतिनिधि बताइएको भन्दै खारेजीको माग गरे । नेविसंघको वर्तमान नेतृत्वले ६४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको र त्यहाँबाट प्रतिनिधि चयन भइसकेको जनाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले २३ देखि २५ साउनसम्म हुने नेविसंघको एघारौँ महाधिवेशन निष्पक्ष हुने बताएका छन् । नेविसंघ नेता कुन्दन काफ्ले नेतृत्वको प्रतिनिधिमण्डलसँग बुधबार भएको भेटमा सभापति देउवाले महाधिवेशनको निष्पक्षतामा आशंका नगर्न आग्रह गरेका हुन् ।
सभापति देउवालाई भेट्न पुगेका विद्यार्थी नेताहरूले महाधिवेशनका लागि भनेर चयन गरिएका ६ सयभन्दा बढी प्रतिनिधि नक्कली रहेको भन्दै प्रतिवेदन बुझाएका थिए । नेविसंघ नेतृत्वले विवाद टुंगिएको बताए पनि ६४ जिल्लामा ६ सयभन्दा बढी नक्कली प्रतिनिधि रहेको उनीहरूको दावी छ ।
सभापति देउवालाई भेट्न कुन्दन काफ्ले, युवराज पाण्डेय, जित शेरचन, डिल्लीराम सुवेदी, कृष्णकुमारी बस्नेत, तुलसा पन्त, चक्र गुरुङलगायतका नेता पुगेका थिए । उनीहरूले नक्कली प्रतिनिधि खारेज गरेर मात्र महाधिवेशन सुनिश्चित गर्न सभापतिको ध्यानाकर्षण गराए ।
जवाफमा देउवाले पार्टी केन्द्रीय समितिबाट निर्देशन समिति गठन हुने र सो समितिले नै न्यायिक छानबिन गरी महाधिवेशन सुनिश्चित गर्ने स्पष्ट पारे । महामन्त्रीका आकांक्षी डिल्लीराम सुवेदीले भागबन्डा स्वीकार्य नहुने भन्दै विवादको निरूपण विधिवत् महाधिवेशन नै भएको बताए । नेविसंघको नौ वर्षदेखि महाधिवेशन हुन सकेको छैन ।